

काटमाडौं । नुवाकोटमा वैशाख १३ गतेदेखि बागमती प्रदेश मुख्यमन्त्री कप २०८२ हुने भएको छ । शनिवार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराइएको छ ।
मुख्यमन्त्री कपमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता र राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने मुख्य आयोजना नुवाकोट जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका अध्यक्ष विजय गुरुङले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पछिल्लो समय नेपाली खेलकुदमा महिला सहभागिता उत्साहजन रहेकाले नुवाकोटमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । साथै व्याडमिन्टनमा पनि देशभर नै राम्रो माहौल रहेकाले फुटबल र व्याडमिन्टनलाई मुख्यमन्त्री कपमा समावेश गरिएको उनले बताए ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा १३ गतेदेखि २० गतेसम्म राष्ट्रिय स्तरको ८ टिमको सहभागितामा फुटबल प्रतियोगिता हुनेछ । त्यस्तै १३ गतेदेखि १५ गतेसम्म व्याडमिन्टन प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
बागमती प्रदेश खेलकुद परिषद मुख्य संरक्षक रहने मुख्यमन्त्री कपको फुटबल प्रतियोगिताको प्रथम टिमलाई ट्रफि, मेडलसहित नगद पाँच लाख पुरस्कारको व्यवस्था रहेको छ, भने दोस्रो हुनेलाई दुई लाख पचास हजारसहित ट्रफि, मेडलद्धारा पुरस्कृत गरिने छ । त्यस्तै व्याडमिन्टन तर्फ ७ विधामा खेल खेलाइने भएको छ ।
व्याडमिन्टन तर्फ पुरुष जोडी प्रथमलाई पचास हजार, द्धितीय तीस र तृतीयलाई बीस हजार पुरस्कार रहेको छ । भेट्रान्स पुरुष(९०) को प्रथमलाई ४० हजार, द्धितीयलाई २५ हजार र तृतीयलाई २० हजार रहेको छ । खुल्ला पुरुष जोडी(जिल्ला भित्र) को प्रथमलाई ३० हजार, द्धितीयलाई २० हजार तृतीयलाई १० हजार रहेको छ । खुल्ला पुरुष जोडी(जिल्ला भित्रका बि लेभल) को प्रथमलाई २० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १० हजार रहेको छ । त्यस्तै १५ वर्ष मुनिका पुरुष समूहलको प्रथमलाई १५ हजार, द्धितीयलाई १० हजार र तृतीयलाई ५ हजार रहेको छ । १५ वर्षमुनिका महिला समूहको प्रथमलाई १५ हजार, द्धितीयलाई १० हजार र तृतीयलाई ५ हजार रहेको छ । भने मिश्रित समूहको प्रथमलाई ३०, द्धितीयलाई २० र तृतीयलाई १० हजार प्रदान गरिने जनाइएको छ ।
बागमती प्रदेश खेलकुद परिषद मुख्य संरक्षक र नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा हुने बागमती प्रदेश मुख्यमन्त्री कपको आयोजक नुवाकोट जिल्ला फुटबल संघ र संरक्षक विदुर नगरपालिका रहेको छ ।