आफ्नै जिल्लामा पनि ज्यान जोगाउन शौचालयभित्र थुनिएपछि के भने योगेशले ?-Sutra News

आफ्नै जिल्लामा पनि ज्यान जोगाउन शौचालयभित्र थुनिएपछि के भने योगेशले ?

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नाराबाजीका क्रममा शौचालयमा थुनिएको विषयमा बोलेका छन्।



उनले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् ताप्लेजुङमा भएको घटनाबारे मुख खोलेका हुन्।

‘कार्यक्रम सकेर फर्कनेक्रममा २-४ जनाले मेराविरुद्ध नारा लगाएछन्। नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन्,’ भट्टराईले लेखेका छन्, ‘मलाई कुनै दुःख छैन। सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ।’

उनले ‘नो केबलकार’ समूह पक्षीय भनिएका नाराबाजी गर्नेहरूलाई प्रायोजकको हतियार नबन्न र सामाजिक एकता र सद्भाव नबिगार्न पनि चेतावनी छन्।

‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो,’ उनले लेखका छन्, ‘मेरो आग्रह विवेकले काम गरौँ। प्रायोजकहरूको हतियार नबनौँ। सामाजिक एकता र सदभाव नबिगारौँ।’

त्यसअघि ताप्लेजुङमा भट्टराईविरूद्ध ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेका थिए।

कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए। उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए।

अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए। उनी शौचालय भित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।

लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो।

आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेको थियो। चर्को नाराबाजीका बीच प्रहरीले नेता भट्टराईलाई हेलिकप्टरसम्मै सुरक्षा दिनुपरेको स्थानीयको भनाइ थियो। भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेलसमेत भएको प्रत्यक्षदर्शीले बताएका थिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा दिनका लागि केही बेर चुकुल लगाइएको बताए। ‘माननीयज्यू शौचालय जाने बेलामा नाराबाजी भयो। हामीले सुरक्षा दिएका हौं। अरू केही होइन,’ उनले भने।

नाराबाजी भएपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो। केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्‍याएर काठमाडौं पठाएको थियो।

पछिल्लो समय ताप्लेजुङको पाथीभरामा केवलकार बनाउने विषयमा विवाद उत्पन्न हुँदा भट्टराईले केवलकार बन्नुपर्ने विषयमा जोडदार वकालत गर्दै आएका छन्।

पाथीभरमा केवलकार बन्न नहुने भनेर आन्दोलन गर्दै आएका समूहले उनलाई प्रदेशमा निषेध गर्ने घोषणा नै गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार