

काठमाडौं । सन् २०११ मा ‘स्वर’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी अभिनेत्री बेनिशा हमालले त्यसयता ‘कालो पोथी’, ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’, ‘घर’, ‘प्रेमगञ्ज’ लगायत फिल्ममा अभिनय गरिन्। दृष्टिबिहीन अभियन्ता तथा कलाकार सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड हात पारिन्।
तर उनको कुनै फिल्मले व्यावसायिक सफलता हात पारेन। कलाकारको जति चर्चा भएपनि फिल्म चलेन भने त्यसको के अठा हुन्थ्यो र ! यतिन्जेल यस्तै भइरह्यो बेनिशालाई।
नभन्दै, १२ वर्षको फिल्मी करिअरमा एउटा फिल्म हिट भयो, ‘छक्का पन्जा ४’। त्यसपछि भने उनको हिट फ्ल्मी करिअर उस्तै बिजोकलाग्दो छ।
बेनिशाले अभिनय गरेको ‘प्रेमगञ्ज’ फिल्म चलेन। त्यसपछि रिलिज भएको ‘चिँ मुसी चिँ’को हालत पनि उस्तै रह्यो। हरर फिल्म ‘घर’मा बोल्ड सिन दिएर चर्चा कमाएकी बेनिशाको फिल्म रिलिज चर्चा दिन सकेन।
तर, यतिबेला भने बेनिशाको हातमा लगातार फिल्म परिरहेको छ।उनले पनि श्रृंखलाबद्ध रूपमा काम गरिरहेकी छन्। हिट फिल्म ‘छक्का पञ्जा ४’पछि उनले ‘हात्तीछाप’ र ‘उपहार’सहित एक हिन्दी फिल्ममा काम गरिन्।
गत वर्ष ‘एक्लो’ र ‘मोहर’को छायांकन सकाइन्। यतिबेला ‘कल्ली’मा काम गरिरहेकी छिन्। यस वर्ष उनका यी तीन फिल्मसहित ‘सिटामोल’ पनि प्रदर्शन हुँदैछ। पहिलो पटक उनको एकै वर्षमा चार फिल्म प्रदर्शनमा आउन लागेका हुन्।
२०८२ का लागि उनले पहिलो फिल्मको रुपमा ‘बिगुल’ सम्झौता गरेकी छन्। उनीसँग यसै साता फिल्मका निर्माताले लिखित सम्झौता गरेकी हुन्। फिल्ममा उनको जोडी अभिनेता नरेन खड्कासँग बाँधिनेछ। फिल्मलाई भने रमेश कोइरालाले निर्देशन गर्नेछन्।
बेनिशाको पाइपलाइनमा ‘बिगुल’सहित अर्को एउटा फिल्म पनि रहेको बताइन्छ। यस वर्ष रिलिज हुने चार फिल्ममध्ये कुनै एउटा मात्रै पनि सफल भए उनको ‘छक्का पन्जा ४’ ले जस्तै उनको भाग्य चम्किन्थ्यो कि !