प्रचण्डको कारण विद्यालाई राजनीतिमा फर्किन झन् सहज, विराटनगरबाट जितिन् ओलीलाई-Sutra News

प्रचण्डको कारण विद्यालाई राजनीतिमा फर्किन झन् सहज, विराटनगरबाट जितिन् ओलीलाई

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा नेकपा माओवादीका उपाध्यक्ष बनेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको प्रष्ट पारे।



‘म राजनीतिक आधारबाट यहाँ आएको हुँ, कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो’ उनले भने, ‘संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्ने थियो र ?’

पार्टी जिम्मेवारीमा फर्किएपछि पहिलो पटक पत्रकारसँग भेटघाट गरेका पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीमा जिम्मेवारी लिनुपर्ने बताए। उपाध्यक्ष पुनले पार्टीले आवश्यक टानेर राष्ट्रपतिमा अघि सारे आफू तयार भएको बताए।

कात्तिक २६ गते बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी भएका थिए। पुनलाई बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नै बोलाएका थिए। अर्थात् प्रचण्डले नै पुनलाई राजनीतिमा फर्काएका हुन्।

त्यसपछि अहिले प्रचण्डले पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले नेतृत्वमा आए कम्युनिष्ट एकताको आधार बन्ने रणनीति बुनेर पुनलाई माओवादीमा फर्काएको राजनीतिक वृत्तमा चर्चा छ।

एमालेमा भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने कि नल्याउने भन्ने दुई धार छ। विवादका बीच प्रचण्डले पासाङलाई उपाध्यक्षको जिम्मेवारी दिएपछि एमालेमा फर्किन भण्डारीको पनि बाटो खुलेको नेताहरू बताउँछन्।

अब एमालेको ११औं महाधिवेशनबाट अध्यक्षमा केपी ओली फेरि दोहोरिन चाहन्छन्। त्यसका लागि उनले ७० वर्षे हदबन्दी पनि हटाइसकेका छन्। तर अबको महाधिवेशनमा भण्डारी बाधक बने ओलीलाई हम्मेहम्मे पर्ने देखिन्छ।

प्रचण्ड पहिल्यैदेखि विद्या सक्रिय राजनीतिमा आएको हेर्न चाहन्थे

तत्कालीन राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई शीतल निवास डाकेर सामूहिक भेटवार्ता गरेकी थिइन्। जहाँ प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित सबै दलका शीर्ष नेताहरू पुगेका थिए।

भेटमा आआफ्नो कुरा राख्ने क्रममा प्रचण्डले भण्डारीलाई राष्ट्रपतिबाट अवकाशपछि सक्रिय राजनीतिमा फर्किन सुझाएका थिए।

प्रचण्डले भण्डारीलाई भनेका थिए, ‘यहाँले प्रथम महिला राष्ट्रपतिको रूपमा एउटा मुलुकको गौरव राख्नुभयो। आफ्नो लागि पनि इतिहास निर्माण गर्नुभयो। अब कार्यकारी अधिकारको अभ्यास गर्ने बाटोमा जाँदा राम्रो होला जस्तो लाग्छ। भोलि पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पनि यहाँले प्राप्त गर्न सक्नुहुन्छ नि !’

प्रचण्डले मात्रै होइन, देउवादेखि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि भण्डारीलाई राजनीतिमा फर्किन सुझाएका थिए। तर त्यो भेटमा ओली भने भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने कुरामा सहमत थिएनन्।

अहिले भण्डारी शीतल निवासबाट बिदा भएपछि सक्रिय राजनीतिमा फर्किने आन्तरिक गृहकार्यमा जुटिरहेका बेला त्यसलाई माओवादीका अध्यक्ष प्रचण्डले सहज बनाइदिएका छन्। पूर्वउपराष्ट्रपति पुनलाई पार्टी उपाध्यक्ष बनाएर प्रचण्डले विद्यालाई पनि राजनीतिमा फर्काउने बाटो खोलिदिए।

विराटनगरबाट ओलीविरुद्व सुरू भइसक्यो विद्याको जीत

अहिले एमालेभित्र अध्यक्ष ओली र पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीको गुट विराटनगरबाट थप झाङ्गिएको छ। यसअघि पार्टीभित्र मनमौजी गरिरहेका ओलीलाई रोक्न एमाले फर्किने तयारीमा रहेकी भण्डारीको सक्रियता विराटनगरमा सार्थक देखिएको हो।

अहिलेसम्म अधिवेशनमा ओलीको हस्तक्षेप अनि सहमतिका नाममा सिंगो कमिटीको नाम भित्तामा टाँस्ने चलन हुर्किएको एमालेभित्र कोशी प्रदेशमा यसपटक त्यस्तो भएन। कुनैबेला ओलीकै विश्वासपात्र रहेका र पछिल्लो केही वर्ष उनीबाट टाढिएका मोरङका नेता विनोद ढकाल यस पटक पूर्वराष्ट्रपति भण्डारीको गुटमा गएपछि फरक परिदृश्य बन्यो।

मंगलबारदेखि सुरू भएको एमालेको विराटनगर महानगर अधिवेशन संस्थापन (ओली) भर्सेस इतर (भण्डारी) समूह फरक प्यानल बनाएर चुनावी मैदानमा होमिए। ओलीले रोहित कोइरालालाई अध्यक्षमा उठाउँदा बलराम गिरी भण्डारी गुटबाट उठेका थिए। अन्तत: नतिजा भण्डारीकै पक्षमा आयो।

त्यसमा पनि अहिले र पहिले ओलीकै विश्वासपात्र मानिने भण्डारी र अर्का नेता परशुराम बस्नेतबीचको टसलले पनि भण्डारी गुटले बाजी मारेको हो। पहिले ओली गुटका लागेका ढकाल प्रदेश अधिवेशनदेखि भण्डारी गुटमा दृढ उभिएपछि अधिवेशन उद्घाटनमा बोल्नै पाएनन्। अर्थात् उनलाई बस्नेतले मञ्चमा मानमर्दन गरी बोल्न दिएनन्।

त्यसपछि ढकालले भण्डारीको गुटबाट प्यानलै उम्मेदवारी उठाइदिए। नभन्दै, भण्डारी गुटबाट प्यानलै विजयी भयो पनि।

भण्डारी गुटका गिरीले ओली गुटका कोइरालालाई ५२ मतले पछि पार्दै महानगर कमिटीको अध्यक्षमा निर्वाचित भए। उपाध्यक्षमा पनि गिरी पक्षबाट सुरज न्यौपानले जित निकाले। सचिवमा विज्ञान चापागाई विजयी हुँदा उपसचिवमा हामिद आजादले जित निकालेका छन्। त्यस्तै, महिला उपसचिवमा हिमा मैनाली पोखरेलले जितिन्।

ओलीको विकल्पमा तयार भएकी भण्डारी

पूर्वराष्ट्रपति भण्डारी ओलीका हालैका गतिविधिप्रति असन्तुष्ट छिन्। एमाले नेताहरूमाथिको कारबाहीमा पनि उनको असहमति छ। ओलीले पार्टीमा एकता कायम गर्न नसकेको र उनले नेतृत्व लिएपछि संगठनमा निराशा एवं क्षयीकरण बढेको उनको बुझाइ छ। यसैकारण उनले पार्टीभित्र सक्रियता बढाउन थालेकी हुन्।

त्यसमा पनि ओलीकै विश्वास पात्र मानिने गोकुल बाँस्कोटा, पृथ्वीसुबा गुरुङलगायतका नेता भण्डारीको पक्षमा खुल्दा ओलीलाई झन् गाह्रो बनाएको छ।

आफ्नै मातहतका नेताहरू भण्डारीलाई ‘उक्साउन’ लागिपरेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई मन परेको छैन। जुन बेलाबखतमा आउने उनका अभिव्यक्तिले पनि पुष्टि गर्छ।

‘पूर्वराष्ट्रपतिकोमा गएर मानिसहरूले किन गल लगाउनुपर्‍यो? किन उचालिराख्नुपर्‍यो र?’ एक कार्यक्रममा ओलीले भनेका थिए, ‘तपाईं आइदिनुपर्‍यो भनेर भन्नै परेन नि! पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो। उहाँले बुझिहाल्नुहुन्छ नि।’

अबको महाधिवेशनमा ओली फेरि अध्यक्ष बन्न चाहन्छन् भन्ने प्रष्ट छ। उनले उमेर हददेखि तेस्रो कार्यकालका लागि पनि अध्यक्ष दोहोरिने गरी विधान संशोधन गरिसकेका छन्।

तर, महाधिवेशनअघि नै भण्डारी सक्रिय भए अप्ठेरो हुने भय उनमा देखिन्छ। एमालेका केही नेताहरू अबको महाधिवेशनमा भण्डारीलाई नै अघि सार्नुपर्ने पक्षमा खुलेर लागेका छन्। अबको दुई वर्षको अवधिमा सबैतिर पुग्न सके परिणाम आफ्नो पक्षमा आउने भण्डारीको बुझाइ छ। त्यसैले पनि उनी अहिले देश दौडाहा गरेर कार्यकर्ताको राय लिइरहेकी छन्।

एकातिर भण्डारीलाई एमालेमा सक्रिय बनाएर वाम एकताको आधार बनाउन लागिपरेको केही नेताहरूले सार्वजनिक रूपमै बताउदै आएका छन्। माओवादीका अध्यक्ष पुश्पक्जम दाहाल प्रचण्ड पनि भण्डारीलाई एमालेमा भित्र्याएर वाम एकताको लागि कस्सिएको कुरा लुक्दैन। त्यसका लागि उनले पूर्वउपराष्ट्रपति नन्द किशोर पुनलाई माओवादीमा भित्र्याएर विद्यालाई सजिलो बनाइदिएका छन्।

अर्कातिर भण्डारीको आफ्नै क्रियाशीलता पनि रोकिएको छैन। कतिपय पदाधिकारी तहकै नेताहरू दुई खेमामा विभक्त भई एउटा भण्डारी पक्ष र अर्को ओली पक्ष भएको कुरा एमालेको तल्लो तहसम्मै पुगेको छ। जुन कुरा ओलीले पनि कार्यक्रमहरूमै स्विकार्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार