सुरक्षा कडाइपछि हच्कियो राप्रपा, प्रदर्शनमा सीमित नेताहरू सहभागि हुने-Sutra News

सुरक्षा कडाइपछि हच्कियो राप्रपा, प्रदर्शनमा सीमित नेताहरू सहभागि हुने

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

काठमाडौं । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । मध्याह्न १२ बजेपछि राप्रपाले प्रदर्शन सुरु गर्ने जनाएको छ ।



पूर्वघोषित कार्यक्रमअनुसार राप्रपाले बानेश्वरको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने योजना बनाएको छ । राप्रपाले यसअघि नै बैठकमार्फत निषेधित क्षेत्र तोड्ने निर्णय गरेको थियो । जुन निर्णयपछि गृहमन्त्रालयले निषेधित क्षेत्र तोडेमा कानुनबमोजिम कारबाही गर्ने बतायो । सँगै, प्रदर्शनलाई ध्यानमा राखी आइतबार बिहानैदेखि सुरक्षा परिचालन पनि उच्च तहमा गर्‍यो ।

अहिले प्रमुख प्रशासकिन केन्द्र सिंहदरबार, संसद भवन नयाँ बानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ । राप्रपाले प्रदर्शन क्षेत्र तोकेको बिजुलीबजार क्षेत्रमा थप कडा बनाइएको छ ।

सुरक्षा व्यवस्थामा गरिएको कडाईपछि राप्रपा प्रदर्शन अगावै संयमित देखिएको छ । प्रदर्शनपछिको परिदृश्यलाई केलाउँदै राप्रपाले अन्तिम समय सीमित नेता र सामान्य प्रदर्शन गर्ने तयारी गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शनमा सीमित नेताहरुमात्रै सहभागि हुने बताएका हुन् । प्रदर्शन शान्तिपूर्ण र सामान्य प्रकृतिको रहने उनले बताएका छन् । उनका अनुसार आजको प्रदर्शन सांकेतिक हुनेछ ।

“आज राप्रपाले गर्ने प्रदर्शन भनेको, भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो, जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ”, उनले भनेका छन्, “वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ ।”

यसअघि चैत १५ मा तीनकुने क्षेत्रमा दुर्गा प्रसाइँको नेतृत्वमा राजावादी समूहहरुको प्रदर्शन भएको थियो । जुन प्रदर्शन हिंसात्मक बन्दा ठूलो स्तरमा जनधनको क्षति भएको थियो ।

तर, त्यसपश्चात राजावादीले गरेका प्रदर्शन सामान्य बनेका छन् । चैत २६ मा राप्रपाले गरेको बल्खु क्षेत्रको प्रदर्शनमा अपेक्षाकृत नागरिक सहभागि भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार