यौन व्यवसाय : नबोली चल्न दिने वा वैधानिकता खाेज्ने ?-Sutra News

यौन व्यवसाय : नबोली चल्न दिने वा वैधानिकता खाेज्ने ?

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

गत चैत ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने विषय उठ्यो । जुन विषयको उठान नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेबाट भएको थियो । घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिएको खण्डमा नेपालमा पर्यटकको संख्यामा निकै बढोत्तरी हुने र आर्थिक गतिविधिलाई टेवा पुग्ने तर्क पेस गरेका थिए । यद्यपि, उनको अभिव्यक्ति निकै विवादमा तानियो । जुन अभिव्यक्तिकै कारण उनी लज्जित मात्रै भएनन्, सार्वजनिक रूपमा माफी माग्न पनि बाध्य बने । उनी आबद्ध नेपाली कांग्रेसभित्र उनीमाथि कारबाही हुनुपर्ने माग उठेको थियो ।



घिमिरेले आफ्नो प्रस्ताव संसदमै राखेका थिए र छलफलका लागि माहौल तयार गर्न चाहेका थिए । यद्यपि, चौतर्फी आक्रमणपछि उनी मात्रै पछि हटेनन्, उनले अघि सारेको विषयमा पनि जनप्रतिनिधिको वैधानिक थलो संसदमा बहस हुन पाएन । कुनै पनि सांसदले सो प्रस्तावमाथि वैचारिक रूपमा बहस गरेनन् । राष्ट्रिय सभामा घिमिरेको अभिव्यक्तिलाई लिएर खेद प्रस्ताव नै प्रस्तुत हुँदा उनको अभिव्यक्तिको कडीलाई केलाउने काम भएन । यद्यपि, यौन व्यवसायलाई वैधानिक बनाउने सन्दर्भमा सार्वजनिकरुपमा बोल्ने घिमिरे पहिलो व्यक्ति भने थिएनन् ।

स्मरण रहोस्, यसअघि नेपालमा गाँजा खेतीलाई मान्यता दिनुपर्छ भन्ने प्रस्ताव ल्याउने सांसदलाई यस्तै गरेर उल्लीबिल्ली बनाउने र माफी माग्ने अवस्था बनाइएको थियो । आखिर अहिले आएर गाँजा खेतीमाथि अब कानुन बन्दै छ, प्रतिबन्ध फुक्दै छ र यसले वैधानिकता पाउँदै छ । नेपालमा ‘सेक्स टुरिजम’को सम्भावनाको कुरा गर्दा आत्तिनुपर्ने र प्रस्ताव व्यक्त गर्नेलाई खेद प्रस्ताव गर्नुपर्ने कारण नै के थियो र ? के उनले नेपालको संविधानसँग बाझिने मृत्युदण्डको प्रस्ताव पेस गरेका थिए र ?

हेक्का राख्नुपर्ने विषय, यौन व्यवसाय समाजमा खुलेहाम भइरहेको छ । त्यही कुरालाई हामी अवैध पनि भनिरहेका छौँ र अवैध बनाइ रहेका छौँ । तर, अवैध कुरालाई कानुन बनाएर नियमन गर्ने गाली किन पाए सांसद घिमिरेले ?

लुकाउनु पर्दैन, चर्चित सहरहरू ठमेल, पोखरा, भरतपुर, सौराहा, नेपालगन्जलगायतका गल्ली गल्लीमा यौन व्यवसाय चलिरहेको छ । बाहिर नामी भनेर चिनिने होटलहरुमा पनि ‘मसाज’ नाममा यौन काम भइरहेका छन् । कहीँ कतै धार्मिक आवरण त कतै ‘रिफ्रेस सेन्टर’को नाममा सेक्स धन्दा मौलाइरहेकै छ । भन्दा हच्किन आवश्यक छैन, रानीवन ओशोतपोवनदेखि नगरकोटका सुन्दर पाखाहरू यौनकृणा पोख्ने क्षेत्र बनेका छन् । यदि प्रशासनले त्यसमा कडाइ गर्ने हो भने अधिकांश होटल, रिसोर्ट बन्द हुन्छन् । तर, आज प्रशासनले थाहा पाएरै आँखा चिम्लिरहेकोमा दुबिधा छैन ।

सांसद घिमिरेलाई गाली गर्नेहरूले नेपालबाट अवैध रूपमा खाडी मुलुकदेखि युरोपेली देशहरूमा सेक्स वर्करका रूपमा काम गर्न गएका नेपाली चेलीहरूको अवैध बाटो देखेर पनि बुझ पचाएर अनदेखा गर्दै छन् । त्यही कुरो मुम्बईको अन्धेरी र बान्द्रामा खुलेहाम गर्न हुने अनि त्यही कुरालाई लिएर सांसदमा बहससम्म गर्दा गाली खानुपर्ने ? यो हामी नेपालीहरूको कृत्रिम नखरा हो ।

अर्कोतर्फ, विभिन्न नाममा विदेश गएका नेपाली चेलीहरु यौन व्यवसायमा सहभागी भएको कुरा लुकेको छैन ।

एउटा स्त्रीलाई बिहे पछि आफ्नो लोग्ने बाहेक दोस्रो पुरुषसँग प्रेम गर्ने छुट छैन, यो समाजले बनाएको नियम हो । हिन्दु कानुनमा त अझै यो सबैभन्दा वर्जित विषय हो यो । हिन्दु कानुनका विभिन्न स्रोतमध्ये किराँत धार्मिक ग्रन्थ मुन्धुममा त विवाहवेत्तर सम्बन्ध भएको थाहा भएमा सिधै हत्या गरिदिने कानुन थियो । मुस्लिम कानुनलाई अहिले पनि संसारको सबैभन्दा कठोर कानुन मानिन्छ, यस्तै खाले कानुन नेपालमा आजभन्दा ४०० वर्ष अगाडिदेखि नै अस्तित्वमा थियो । स्त्री जातिमा लज्जा हरायो भने त्यो नै सबैभन्दा ठुलो कुरूप हो भन्ने कुरा गर्‍यो धर्मले ।

यौन व्यवसायको सुरुवात, मानव समाजको विकाससँगै भएको पाइन्छ । जसको स्वरुप विभिन्न आवरणमा भएको भेटिन्छ । कहिले शासकहरुले ‘नृत्यांगना’ त कहिले ‘सेवक’को रूपमा महिलाहरुलाई प्रयोग गरेको भेटिन्छ । समयको विकाससँगै पुँजीवादी समाजमा यसलाई विभिन्न नाममा अगाडि सारिएको पाइन्छ । यद्यपि, अहिले यौन व्यवसायमा महिलामात्रै होइन, पुरुष पनि सहभागी भएको घटनाहरू भेटिन्छ ।

यसकारण लुकेर भइरहेको वेश्यावृत्तीलाई राज्यले वैधानिकता दिनु भनेको त्यो समाजमा निरन्तर भइरहेको यौन हिंसामा कमी ल्याउने एउटा थप कदम हुन सक्छ । हाम्रो देशमा हरेक वर्ष सयौँ नेपाली चेलीहरू श्रमिकको रूपमा बेचिएका छन् । एयरपोर्टमा जतिसुकै कडा गरियोस् ती जसरी पनि कि हवाई मार्ग भएर वा कि स्थल मार्ग भएर उद्देश्य प्रेरित गन्तव्यमा पुगेकै छन् । अहिले शिक्षा सञ्चार र जागृतिको कारण शिक्षित भनिएका महिलाहरूलाई अरूले झुक्क्याउने छल गर्ने प्रवृत्तिमा करिब ८० प्रतिशतले कमी आएको छ तर, सोसल मिडियाको दुरुपयोगका कारण र आफ्नै कारणले शिक्षित र दीक्षित भनिएका स्त्रीहरूले आफूले आफैलाई बेचिरहेको अवस्था समेत छ ।

यौन व्यवसाय युरोप अमेरिका जापान चीन भारत जस्ता देशमा अवैध मानिएको छैन । यो बारेमा भारत कानुनी रूपमा मौन छ । यो अवैध पनि होइन, वैधानिक पनि होइन । वेश्यालय सञ्चालन गरेर उ कर उठाउँदैन । हरेक दिन हुने यौन हिंसालाई रोकथाम गर्न सायद भारत सरकार यो मामलामा मौन छ । हाम्रोमा यसलाई अवैध मानिन्छ र सरकार पनि मौन छैन । छापा हान्छ, यस्ता क्रियाकलापमा । मसाज, क्लब, ब्युटी पार्लर वा स्पाको नाममा संगठित वेश्यावृत्ति भने यहाँ निरन्तर भइरहेको छ ।

कानुन मान्नेहरूका लागि मात्रै त बन्देज हो अरूलाई त खुला छ । यदि हामी यस विषयलाई सामाजिक रूपबाट हेर्छौँ, तस्करी र वेश्यावृत्ति सभ्य समाजमा कुनै पनि हालतमा स्वीकार्य छैन । तर, अझै पनि नेपालमा यौनकर्मी र वेश्यावृत्तिको बजार बढेको छ । खाजा घरमा मात्रै होइन, ब्युटी पार्लरभित्र पनि वेश्यावृत्ति भइरहेको छ । हामीले अनुमान र सोचेको भन्दा धेरै फरक छ, नेपालमा सेक्स वर्करहरुको गतिविधि । पश्चिमी हावाले हल्लाएको नेपाली युवा युवतीहरूको हाइफाइ यति तीव्रतर गतिमा अगाडि बढी सकेको छ कि कसैले चाहेर पनि रोक्न सकिने अवस्था छैन ।

समाज र समाजको गतिशीलता कानुनको एउटा स्रोत पनि हो । कानुन समाज नियमनका लागि बन्छ । समाज कता हिँड्छ, कानुन त्यता फर्किन सक्यो भने त्यो कानुनले समाजलाई पनि दिशा निर्देशन गर्छ । तर, समाजकै गतिशीलतालाई कानुनले बग्न दिन्न भने समाज अझै अपराधीकरणको बाटो तर्फ फैलिरहेको हुन्छ र अपराधको अन्त पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार