

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए।
अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए।
यो पनि पढ्नुहोस् : https://www.sutranews.com/245735/04/19/
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे।
त्यसअघि प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई माओवादीको उपाध्यक्ष बनाइसकेका छन्। पुनलाई पार्टी उपाध्यक्ष बनाएर प्रचण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पनि राजनीतिमा फर्काउने बाटो खोलिदिएका छन्।
एमाले नेताहरूका अनुसार विद्यालाई एमालेमा भित्र्याएर प्रचण्ड वाम एकता गराउन चाहन्छन्।