

काठमाडौं । शुक्रबार बिहान करिब डेढ घण्टा पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँग लन्च वार्ता गरेका थिए। त्यस क्रममा पूर्वराजा शाहले समसामयिक राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए।
पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास निर्मल निवास पुगेका थिए।
स्रोतका अनुसार पूर्वराजाले छलफलको सुरुमै तीनकुनेको घटना किन हिंस्रक भयो ?’ भन्दै राप्रपाका नेताहरूलाई प्रश्न गरेका थिए। ‘आन्दोलनमा नेपाली आमाका छोराछोरी कोही मर्नु हुँदैन’, पूर्वराजा शाहले भनेका थिए।
जवाफमा अध्यक्ष लिङ्देनले उक्त आन्दोलन आफूहरूले नभई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुर्नस्थापना समितिले गरेको भनेका थिए।
पूर्वराजाले आन्दोलनका दौरानमा प्रहरीलाई ढुंगा नहान्न र गुलाफको फूल दिन समेत सुझाएको बताएको छ। ‘पुलिसलाई गुलाफको फूल दिनू , प्रहरी आफ्नो दाजुभाइ हो। मान्छे मारेर आएको व्यवस्था कहिले पनि ठिक हुँदैन’, उनको भनाइ थियो।
उक्त भेटपछि राप्रपाले आज काठमाडौंमा सडक प्रदर्शन गरिरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा लिङ्देनसहित तीन नेता प्रहरी नियन्त्रणमा परिसकेका छन् तर आन्दोलन भने जारी छ।
प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनले पूर्वराजासँगको भेटबारे संचारकर्मीलाई त्यसलाई ‘नियमित भेट’ मात्रै भएको दाबी गरेका छन्।
राजावादी आन्दोलनको मोर्चा दुर्गा प्रसाईं र नवराज सुवेदीलाई नेतृत्व सुम्पेको भनेर गुनासो पनि त्यहाँ पेश भयो भन्ने सुनियो नि ? भन्ने प्रश्नमा लिङ्देनको जवाफ छ, ‘उहाँहरुको बारेमा अलिअलि कुरा त्यहाँ उठेको नै हो। तर यसमा एकदम ध्यान दिनुपर्नेगरी केही भएको छैन। सामान्य चर्चा परिचर्चामात्रै हो। यो स्वभाविक पनि हो।’
लिङ्देनका अनुसार गएको १५ गते २ जनाको ज्यान जाने गरी तीनकुनेमा गएको हिंसात्मक राजावादी आन्दोलनको तथ्य बाहिर ल्याउनका लागि राप्रपाले न्यायिक छानबिन समिति बनाएर जानुपर्छ भनेर राखेको मागलाई पूर्वराजाले समर्थन जनाएका छन्।
उक्त भेटमा सहभागी एक नेताका अनुसार राप्रपा नेताहरूसँग पूर्वराजाले गरेको कुराकानीको संक्षिप्त अंश यस्तो थियो :
पूर्वराजा : त्यो समिति (तीनकुनेमा हिंसात्मक आन्दोलन गर्ने नवराज सुवेदी नेतृत्वको) कसले बनाएको, तिमीहरूले बनाएको हो?
राजेन्द्र लिङ्देन : यो त यतैबाट भयो भन्ने छ सरकार।
त्यसपछि प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाही भने : त्यो समिति यतैबाट बन्यो भनेर मिडियामा खबर आएको थियो।
पूर्वराजा: मसँग त भेट नै भएको छैन। मैले त त्यो गर पनि भनेको छैन।
पूर्वराजा : अनि राजेन्द्रले नेतृत्व किन नगरेको?
राजेन्द्र लिङ्देन : नवराज सुवेदी संयोजक भनेर आएपछि मैले के नेतृत्व गर्ने सरकार।
पूर्वराजा : त्यो मानिस (नवराज सुवेदी) सँग वर्षौ भइसक्यो भेट नभएको।
राजेन्द्र लिङ्देन : हाम्रै पार्टीका केही साथीहरू पनि त्यसमा सदस्य हुनुहुन्छ।
प्रवक्ता ज्ञानेन्द्र शाही : दुर्गा प्रसाईं निर्मल निवास आएको त भिडिओ नै आएको थियो नि त सरकार।
पूर्वराजा : मसँग त भेट भएको छैन। हाम्रो कोही कर्मचारीसँग भेट्न आएका रहेछन् कि!
पूर्वराजा: तीनकुने क्षेत्रमा ढुंगा हानाहानको भिडिओ पनि मैले हेरेको छु। त्यहाँ साह्रै नराम्रो भयो। जनताले जे चाहन्छन् त्यही गर्ने हो। आन्दोलन भए पनि प्रहरीलाई ढुंगाको सट्टा फूल दिने हो राजेन्द्र।
तीन नेताकाअनुसार पूर्वराजाले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर भनेर राप्रपाका नेताहरूलाई पनि भनेका थिएनन्।