कर विवादका बिच अमेरिकी उपराष्ट्रपति भान्स किन आए भारत भ्रमणमा ?-Sutra News

कर विवादका बिच अमेरिकी उपराष्ट्रपति भान्स किन आए भारत भ्रमणमा ?

सोमबार, ८ बैशाख २०८२

सोमबार, ८ बैशाख २०८२

काठमाडौं । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्लीको पालम एअरपोर्टमा सोमबार अवतरण गरेका छन् ।



उपराष्ट्रपति भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ ।

परिवारसँगै भारत भ्रमणमा आएका भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरेका थिए ।

आजै उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गर्ने कार्यक्रम तय भएको मन्दिरकी प्रवक्ता राधिका शुक्लाले बताइन् ।

उनले साँझ ६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै निवासमा भेट्ने कार्यक्रम छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निस्सन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताएका थिए ।

नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि मङ्गलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार