

काठमाडौं । शिक्षक आन्दोलनमा अभिभावक हुँ भन्दै प्रदर्शन गर्ने एक जना पक्राउ परेका छन्।
सोमबार काठमाडौं महानगरपालिका-२९ बिजुलीबजार पुल नजिकै नेपाल शिक्षक महासंघको विरोध प्रदर्शन भइरहेको कार्यक्रममा अभिभावक भन्दै प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उनी गोदावरी नगरपालिका-५ बस्ने ४० वर्षीय सनोज महत हुन्।
उनले सञ्चारकर्मीसँग अभिव्यक्ति दिइरहँदा शिक्षकहरूले उनीमाथि हातपात गरेका थिए। उनी शिक्षकहरूले गरिरहेको आन्दोलन कहिलेसम्म हो भन्दै प्रश्न गर्न थाले।
उनले आफ्नो छोरी सरस्वती माध्यमिक विद्यालयमा पढ्न गरेको भएको तर शिक्षक आन्दोलनले छोरीले पढ्न नपाएको बताएका थिए। त्यही बेला उनीमाथि आन्दोलनरत शिक्षकहरूले हातपात गरेका थिए।
सडकमा उत्रिएका उनले आफ्नो छोरीको भर्ना हुन नपाएपछि सडकमा आएको बताएका थिए। ‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य बर्बाद गर्न पाइँदैन’, उनले भने।
विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न नपाइने उनको भनाइ थियो। महतले भिडमा आएर बोलेपछि आन्दोलनरत शिक्षकहरूले उनलाई रोकेका थिए। उनले यति कुरा गर्दै गर्दा उनीमाथि शिक्षकहरू झम्टिन थाले।
यतिसम्म कि एक जनाले प्रहरीले समातेर लगिरहेको बेला उडेर माथिबाट हानेका थिए भने अन्यले समेत झम्टिन थालेका थिए।