

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने बताएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
नेपालमा पर्याप्त सम्भावना रहेकाले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा उनको जोड थियो ।
‘योजनाबद्ध दीर्घकालीन सोचबिना विकास सम्भव छैन । विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौँ । तेलमा मात्र निर्भर भएको यूएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापार जस्ता क्षेत्रहरूमा ध्यान दिएको छ । दुबईलाई विश्वको व्यापारिक हब बनाएको छ । हामीले पनि हाम्रो देशमा भएका सम्भावनाहरूको पनि यसैगरी विविधीकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ,’ उनले भने ।
नेपालको सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकाले यी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके यसले रोजगारी सिर्जना तथा नेपालको समग्र आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष ढकालले बताए ।
नेपाल कला र संस्कृतिमा धनी देश रहेको र देशका अमूल्य निधिका रुपमा रहेका कला, संस्कृति र परम्पराहरूको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै उनले विदेशमा आयोजना गरिने यस्ता महोत्सवहरूले नेपाललाई विश्वमा चिनाउने र मित्रता तथा सद्भाव बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
महासंघले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा निरन्तर कार्य गरिरहेको समेत उनले बताए । उनले महासंघ अबुधाबीस्थित नेपाली राजदूतावास र दुबई चेम्बर अफ कमर्ससँग मिलेर सन् २०२३ डिसेम्बरमा ‘नेपाल–दुबई व्यवसायिक फोरम’ को आयोजना गरेको र यसले दुई देशका व्यावसायिक नेतृत्वहरुलाई आसपी सहकार्यका सम्भावनाहरू उजागर गर्ने अवसर प्रदान गरेको उल्लेख गरे ।
विदेशमा कार्यरत नेपाली कामदारहरूको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको बताएँदै उनले महासंघले नेपाल र यूएई दुवैलाई लाभ पुग्ने साझेदारीहरू निर्माण गर्न कटिबद्ध रहेको बताए ।