

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन् ।
उनका स्वकीय सचिव अशेष पोखरेलले राजीनामा दिएको पुष्टि गरेका छन् । पोखरेलका अनुसार स्वास्थ्य अवस्था देखाउँदै मन्त्री भट्टराईले राजीनामा बुझाएकी छिन् ।
यसअघि आज मात्रै आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच छलफल भएको थियो । जुन छलफल सकारात्मक नभएपछि भट्टराई राजीनामाकाे निर्णयमा पुगेकाे देखिन्छ ।
देशभरका सरकारी विद्यालयका शिक्षकहरु विगत २० दिनदेखि विद्यालय शिक्षा ऐनसहित विभिन्न माग राखेर सडक आन्दोलनमा छन् । तर, शिक्षकहरुका माग सम्बोधनमा सरकारले खास चासो दिइरहेको छैन ।
विशेषगरी शिक्षकहरुको आन्दोलनका विषयमा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीबाट भट्टराई असन्तुष्ट थिइन् । उनले ओली अभिव्यक्तिलाई लिएर पार्टी बैठकमै पनि असन्तुष्टि पोखकी थिइन् ।