

काठमाडौं । गीता रानीको जीवनमा त्यस्तो कुनै अभाव अनि आवश्यकता थिएन कि, उनले कुनै भताभुङ्ग सरकारी स्कूलको प्रधानाध्यापक बन्न परोस्। फेरि पनि उनले यही बाटो रोज्छिन्।
सैनिक सेवाको उच्च पदमा जागिर खाइरहेकी उनी एकाएक अवकाश लिन्छिन्। अनेक अवसरलाई गुमाएर उनी त्यही गाउँको त्यही सरकारी स्कुलको प्रधानाध्यापक हुन चाहन्छिन्।
उनले किन यो स्कुल रोजेकी हुन्, कसैलाई भन्दिनन्। तर उनको मनमा एउटा हुटहुहटी छ- त्यो अस्तव्यस्त स्कूलको हालत जसरी पनि सुधार्छु।
नभन्दै, उनी त्यो स्कूलको प्रधानाध्याक बन्छिन् पनि। तर पहिलो कसैलाई थाहा नदिई स्कूल पुग्छिन्। एकजनाको बच्चाको भर्ना गराउने बहानामा स्कूल पुगेकी उनले देख्छिन् अनेकन् समस्याका लहरहरू।
शिक्षकको गैरजिम्मेवारीपन, अनियमितता, भ्रष्ट प्रवृत्ति, पदीय मर्यादाको चरम उल्लघन अनि विद्यालयमा हाजिर भएर व्यक्तिगत काममा जाने शिक्षकको दैनिकी। अहो, कति हो कति समस्या पनि।
विद्यार्थीहरुमा अनुशासनको अभाव मात्र हैन, सिक्ने संस्कार पनि छैन। छेउमै रहेको पसलबाट चुरोट, रक्सी किनेर खान बाणी परेका विद्यार्थी छन्। न उनीहरूलाई सफा हुनु परेको छ, न त स्कुलको पोसाक नै लगाउनुपरेको छ। गरिब विद्यार्थीहरू धेरै भएकाले बेलाबखत स्थानीय कारखाना मालिकहरूले मजदुरी गर्न समेत उठाएर लागेका छन्।
स्कूल आफैंमा स्कूल नभएर गाउँभरिको फोहोर फ्याँक्ने थलो बनेको छ। भत्केका भित्ता, पर्खाल र गेट, सफा खानेपानी र शौचालयको अभाव जस्ता कुराले स्कूललाई गिज्याइरहेको छ। सम्रग्मा त्यो स्कूल कुनै अव्यवस्थित ‘रियाज सेन्टर’ जस्तो छ।
शिक्षकहरुलाई शिक्षण सिकाइमा जिम्मेवार छैनन्। पुरूष शिक्षकहरू महिला शिक्षक र छात्राहरूलाई दुर्व्यवहार गर्छन्। त्यो भन्दा पनि महत्वपूर्ण, त्यहाँका शिक्षकहरु आफैं निजी विद्यालयका एजेन्ट छन्। आफ्नो विद्यालयलाई बिगारेर विद्यार्थीलाई निजी विद्यालयमा पठाएर कमिसन खान पल्केका छन्। अझ व्यवस्थापन तर्फ भएको भ्रष्टाचारले विद्यालयको अवस्था झनै बिगारिरहेको हुन्छ।
अनि यिनै समस्याका बाबजुत गीता रानीले त्यस सरकारी विद्यालयको प्रधानाध्यापक बनेर नेतृत्व ग्रहण गर्छिन्।
गाउँमा स्थानीय सांसद र निजी स्कुल चलाउने गुन्डाहरूको आफ्नै बोलबाला हुन्छ। स्कुलका सबै शिक्षक उनीहरूकै गुनगान गाउँछन्। जब गीताको आगमन हुन्छ, यसले पूरै गाउँमा हंगामा मच्चाउँछ। किनभने सैनिक जागिर त्यागेर आएकी गीतालाई त्यो विद्यालय सुधार्ने जुनुन छ।
त्यसपछि गीता रानीले विद्यालय सुधारका लागि आफ्नै शैली अपनाउँछिन्। अनुशासन, जिम्मेवारी र शैक्षिक गुणस्तरको महत्वलाई पुनर्स्थापित गर्न थाल्छिन्। शिक्षकहरूलाई कर्तव्य परायण बनाउन कठोर नीति अपनाउँछिन्।
विद्यार्थीहरूलाई अध्ययनमा रुचि र अनुशासनको महत्त्व बुझाउन विशेष प्रयास गर्छिन्। त्यसका लागि उनले एकएक गरी सबै विद्यार्थी सम्झाउँछिन्। नमान्नेलाई धम्काउँछिन् पनि। विद्यार्थी सँगै बसेर खाजा खाइदिने, विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्न थालेपछि त विद्यार्थी पनि ठेगानमा आइहाल्छन्।
त्यतिले मात्र नपुगेर, अभिभावक र स्थानीय समुदायलाई शिक्षाको महत्त्व बुझाउन विभिन्न कार्यक्रम गराउँछिन्। गीताको आत्मविश्वास, दृढता र प्रेरणादायी व्यक्तित्व प्रभावकारी हुने पुष्टि गर्छ। अनि म्याडम गीताको यही शैली र व्यवहारले गर्दा एक दिन त्यो सरकारी स्कूल साँच्चै फेरिन्छ।
तर यो समय लामो चल्दैन। अर्थात् त्यो सराकारी स्कूल सुधारिएको त्यहाँका निजी स्कूलका शिक्षित माफियाहरूले देख्न सक्दैनन्। जो वर्षौंदेखि रकम पचाउन बाणी परेका छन्। अनि एकदिन, तिनै माफियाहरूले गीताले गरेका केही निर्णयलाई लिएर हंगामा खडा गर्छन्। र, एउटा निर्णयलाई लिएर षड्यन्त्रपूर्वक उनलाई फसाइन्छ।
त्यसपछि स्कूल तिरतबितर हुन्छ। प्रहरीले स्कूलबाटै पक्राउ गरेर लैजान्छ गीतालाई। अभिभावकहरूले समेत उनीविरुद्व नारा लगाउँछन्। लथालिङ्ग अवस्थामा रहेको सरकारी विद्यालय सुधार गरेकै कारण प्रहरी हिरासतमा बस्न बाध्य हुन्छिन् प्रधानाध्यापक गीता।
यता, विद्यालय सुधारक गीता हिरासतमा छँदा शैक्षिक माफियाहरू खुसी हुन्छन्। यसरी ‘सामुदायिक विद्यालय सुधारक’ले हार्दा ‘शैक्षिक माफिया’हरूको जीत हुन्छ।
फेरि पनि विद्यार्थी र अभिभावककै कारण म्याडम गीता न्यायलयबाट निर्दोष ठहरिन्छिन्। अनि त्यही विद्यालयमा फर्केर प्रधानाध्यापक ‘म्याडम गीता रानी’को रुपमा स्थापित हुन्छिन्। अन्तत: उनी आफ्नो लक्ष्यमा सफल भएरै छाड्छिन्।
अनेकन् बाधा-अड्चनका बाबजुद पनि एक कुशल प्रधानाध्यापक भएकै कारण शैक्षिक गुणस्तर सम्भव भएको कथा फिल्म ‘म्याडम गीता रानी’मार्फत् भनिएको छ।
अब आफ्नै परिपेक्ष्य
अहिले नेपालमा विद्यालय भर्ना अभियान चल्ने बेला हो। तर देशका सबैजसो सामुदायिक विद्यालय बन्द छन्। ८० प्रतिशतभन्दा बढी विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा भर्ना वैशाख २ गतेदेखि शुरू हुनुपर्ने थियो। तर सामुदायिक विद्यालयका शिक्षक-शिक्षिका भने चैत २० गतेदेखि राजधानीका सडकहरूमा आन्दोलनरत छन्।
आन्दोलनले आगामी परीक्षा बारे कक्षा १२ का लाखौं विद्यार्थी अन्योलमा छन्। गत चैतमा एसईई दिएर बसेका पाँच लाखभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका जाँच्न शुरू भएकै छैन। कक्षा ११ को वार्षिक र ग्रेड वृद्धि परीक्षाको पनि टुंगो छैन।
कोही पनि अभिभावकले बालबालिकाको पढाइ बिगार्न चाहँदैनन्। त्यसैले उनीहरूले आफ्ना सन्तानलाई निजीमा भर्ना गरेका छन्। निजी स्कुलले त पढाइ पनि सुरु गरिसके। त्यसैले पनि होला, धेरैले यतिबेला सामाजिक संजालमा लेखिरहेका छन्, ‘आफू सडकमा, छोराछोरी बोर्डिङमा।’ हुन पनि धेरै शिक्षक बोर्डिङ स्कूलका सञ्चालक छन्। यता काठमाडौंमा आन्दोलन जारी छ, सरकारी विद्यालय ठप्प छन्।
तर शिक्षकहरूले भने यही आरोप नेताहरूमाथि लगाएका छन्। उनीहरूका अनुसार धेरैजसो निजी शिक्षालयमा नेताको लगानी छ। कसैको मन्टेसरी, कसैको बोर्डिङ स्कूल, कसैको कलेज, कसैको कन्सल्टेन्सी, कसैको मेडिकल कलेज छ। शिक्षकका माग पूरा भए भने शिक्षण क्षेत्रमा उत्कृष्ट जनशक्ति भित्रिन्छ र विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन्छ। अनि निजी शिक्षालयप्रतिको आकर्षण घट्छ।
त्यसकारण राजनीतिक नेतृत्वले आफूहरूको माग पूरा गर्न तत्परता नदेखाएको शिक्षकहरूको आरोप छ। तर उनीहरूको यो आरोप तथ्यमा मेल खाँदैन।
स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारी लगायतका समस्यालाई विद्यालय शिक्षा विधेयकमा समेटिनुपर्ने शिक्षकहरूको माग छ।
यस पटक उनीहरूले राखेको २२ बुँदे मागमा गत वर्ष भएको सहमति अनुसार अस्थायी प्रकृतिका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई स्थायी हुनुपर्ने भनिएको छ। स्थायी हुन नसक्नेको हकमा ‘गोल्डेन ह्यान्डशेक’ को व्यवस्था गर्नुपर्ने माग छ।
त्यसैले पनि यो आन्दोलन सार्वजनिक शिक्षा सुधारका लागि नभएर अस्थायी शिक्षकलाई स्थायी बनाउने, तलब वृद्धिदेखि सरुवासम्म मात्र रहेको कतिपयको टिप्पणी छ। किनभने अस्थायी शिक्षकलाई स्थायी बनाउन कुनै प्रक्रिया पूरा नगरीकन सम्भव हुँदैन।
अझ शिक्षा मासिकका सम्पादक राजेन्द्र दाहालको शब्दमा भन्दा, ‘आन्दोलन गर्ने पनि दलका शिक्षकहरू हुन्। त्यसको सम्बोधन नगर्ने पनि राजनीतिक दल नै हुन्। समस्या यहीनेर छ।’ यो तर्कमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको पनि सहमति छ।
त्यसो त शिक्षकहरूको यो लामो आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सर्वसाधारणहरू सम्म पनि असन्तुष्ट छन्। राजधानीका सडकहरूमा दैनिक हुने ट्राफिक जामले सर्वसाधारण हैरान देखिन्छन्। हुँदा-हुँदा शिक्षक आन्दोलनले अभिभावक पनि असन्तुष्ट रहेको बिजुलीबजारमा आज भएको घटनाले पुष्टि गर्यो।
आज शिक्षक प्रदर्शन भइरहेको बेला त्यहाँ पुगेका गोदावरी नगरपालिका-५ बस्ने ४० वर्षीय सनोज महतले आन्दोलन कहिलेसम्म हो भन्दै प्रश्न गरे। ‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य बर्बाद गर्न पाइँदैन’, उनले भनेका थिए।
तर आन्दोलनमा घुसपैठ भएको भन्दै शिक्षकहरूले ती व्यक्तिलाई हातपात गरेर प्रहरीको जिमा लगाए। यो सबै हुँदै गर्दा समेत आन्दोलन स्थगित गरेर सरकारी पक्षसंग वार्तामा जाने बारे शिक्षकहरू टसकोमस भएका छैनन्।
त्यसअघि आइतबार एमालेनिकट पेशागत महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री ओलीले पनि यस्तै असन्तुष्टि जनाएका थिए। उनले भनेका थिए- आज ट्रेड युनियनको आह्वानमा एक लाख शिक्षक काठमाडौंमा आए होलान्। तपाईँहरूले पढाएका ५१ प्रतिशत विद्यार्थी फेल किन भए ? यदि ती फेल भएका ५१ प्रतिशत विद्यार्थीका अभिभावकको ट्रेड युनियन थियो र उनीहरू पनि आन्दोलनमा उत्रिन्थे भने तपाईँहरूका विरुद्ध कति लाख मान्छे सडकमा आउने थिए, ख्याल गर्नुभएको छ?