भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगे-Sutra News

भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगे

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडाैं । भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान २ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।



ऊर्जा मन्त्रालयले जनाएअनुसार खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

साथै, उनले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

आज नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेकाे बताइएकाे छ ।

भ्रमणका क्रममा खट्टर भोलि मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। उनले भोलि नै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार