

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । लगातार बृद्धिका बिच साताको तेस्रो कारोबार दिन (मंगलबार) सुनको मूल्यमा एकै दिन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढ्दै पुनः नयाँ रेकर्ड बनेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारको बृद्धिसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि सोमबार प्रतितोला सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको थियो ।
सुनको मूल्य बढिरहँदा मंगलबार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ४८० डलरमा किनबेच भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा निरन्तर सुनको मूल्यमा बृद्धि हुँदा त्यसको प्रभाव स्वरुप स्थानीय बजारमा पनि मूल्य बढ्न थालेको हो । पछिल्लो वृद्धिको ट्रेण्डलाई हेर्दा, सुनको मूल्यले थप उचाई लिनसक्ने देखिन्छ ।