

काठमाडौं । हिन्दु राज्यसहितको राजसंस्थालाई आफ्नो मुख्य एजेण्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गणतन्त्रमा रमाइरहेको छ । तर पनि यति बेला राप्रपा राजा ल्याउनको लागि सडकमा ओर्लिएको छ। सरकार लचिलो होइदिने हो भने राप्रपाले राजालाई थाती राखेर हिन्दु राष्ट्रको मुद्दा अगाडि ल्याउन सक्छ। आफूलाई हिन्दु हु भन्नेले हिन्दुको जस्तो कर्म गरेको छ कि छैन त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हामी भन्दा कट्टर हिन्दुहरु हिन्दुस्थान (भारत) मा छन्, उनीहरूले पनि कहिलेकाहीँ भारतलाई हिन्दुराष्ट्र बनाउन पर्छ भनेर सडक तताउँछन्।
अहिलेको वैज्ञानिक युगमा सरकारले जात र धर्मको नाममा राष्ट्रको धर्म घोषणा गर्दैन। हिन्दु देवस्थल, मन्दिर, तीर्थस्थलको दृष्टिकोणले ,भारत हामी भन्दा धेरै गुणा फराकिलो छ। फेरि पनि तिनीहरूले हिन्दु राष्ट्रको मागमा सामाजिक भातृत्व खलल गरेका छैनन् । हामी हाम्रो सनातन धर्ममा विश्वास गर्छौ। हामीमा धार्मिक सहिष्णुता हुँदा हुँदै फेरि पनि हामी हिन्दु राज्य, हिन्दु राजा, हिन्दु धर्मको माग गर्दै बेलाबेलामा सडक तताउने कुरा गर्छौ। एक धार्मिक मान्छेले या संस्थाले यही नै कुरा हुनुपर्छ भनेर धार्मिक द्वन्द्वका लागि आफूलाई र अरूलाई भड्काउँदैन। र धर्मलाई पनि अब युगको चेतनाले र विज्ञानको आँखाले हेर्नुपर्छ ।
धर्मलाई जब सत्ता र राजनीतिक सुरक्षा मिल्छ अनि आफूलाई ईश्वरको दूत सम्झिने महाराजजीहरूले समाजमा कन्कोल मच्चाउन थाल्छन् । नेपालीलाई सबैभन्दा ठग्न सजिलो माध्यम भनेको धर्मप्रतिको विश्वासका कारणले हो । धर्मलाई समातेर भोट माग्ने नेता, धर्मको नाममा स्थापित भएका गुम्बा, मन्दिर, मस्जिद, चर्च ,चैत्य ,बिहार यी सबै स्थानमा हुने अनेकौँ शोषणहरू यदि बाहिर आउने हो भने धर्म प्रति मानिसमा यति वितृष्णा पैदा हुन्छ कि उनीहरू सबै नास्तिक बन्न सक्छन् ।
हिन्दुहरू सप्ताह, पुराण, महायज्ञ लगाउँछौ र आफ्नो गक्ष र रुचिपूर्वक उक्त पवित्र काममा आर्थिक दान पनि दिने गर्छौ। गतबर्ष पाशुपत क्षेत्रमा लगाइएको कोटि होममा उठेको करोडौँ रकम कसरी हिनामिना भयो र कसरी यो रकम दुरुपयोग भयो सबै हिन्दुहरूले प्रत्यक्ष रूपमा देखे पनि र भोगे पनि । धर्मले मात्रै देशको पहिचान बोकेको हुँदैन । कट्टर मुस्लिम देशमा फतवा अर्थात् मृत्युदण्डको नियम छ।
धार्मिक अतिवादले कसैको पनि हित गर्दैन । त्यस कारण पनि स्वधर्मलाई मानेर मात्र राज्य अगाडि बढ्छ। यो देश हिन्दु धर्म मान्नेहरूको मात्रै होइन । राज्यको कुनै जात र धर्म हुँदैन । मानव सेवा नै राष्ट्रको सबैभन्दा ठुलो धर्म हो। धर्म कुन मान्ने भन्ने विषय व्यक्तिको निजी कुरा हो। राज्यले तेरो धर्म यो हो, तैँले यो धर्म मान्नुपर्छ भनेर भन्न मिल्दैन ।
जात, धर्म, लिङ्ग भूगोलका आधारमा हुने कुनै पनि विभेद र शोषणको अन्त नयाँ नेपालको संविधानले घोषणा गरिसकेको छ।आजको आवश्यकता पनि यही हो।यस कारण पनि नेपाल न हिन्दुरास्ट्र हुन सक्छ, न बौद्ध, न मुस्लिम, न क्रिश्चियन नै। ८५ प्रतिशत ओमकार जगत् छ भनेर नेपाललाई हिन्दुरास्ट्र घोषणा गरियो भने बाकी १५ प्रतिशतले हामी माथि भेदभाव भो भन्लान्। धर्म त त्यो स्थिति हो जहाँ ढुङ्गालाई पनि नदुखोस् भन्ने बिचारले मान्यता पाउनुपर्छ ।
राप्रपाले हिन्दु धर्मको मुद्दा किन पनि बोकेको छ भने यो मुद्दाको संवेदनशीलता माथि खेल्नको लागि नै हो। नेपालमा हिन्दु धर्म मान्नेहरूको संख्या करिब ८० प्रतिशत भन्दा माथि छ। तिनै हिन्दुहरूको संवेदनशीलतामा खेल्न सकियो भने उनीहरूको मन फर्काउन सकिन्छ र नेपालमा छिटो राजतन्त्र फर्काउन सकिन्छ भन्ने उद्देश्य नै हो।
राजाहरूको इतिहास खोज्दै जाने हो भने उनीहरू खान वंशज हुन। मिचा खानबाट जन्मिएका दर सन्तान हुन अहिलेका पूर्व राजाका खलकहरू। कुलमन्डन खान कास्कीका प्रथम शाह वंशीय राजा हुन। शाह थर होइन उपाधि हो। खान (मुस्लिम) बाट शाह उपाधि मिलेर हिन्दुमा परिवर्तन भएका हुन नेपालका शाह वंशीय राजाहरू। राप्रपाले हिन्दु धर्म र राजालाई आफ्नो मूल एजेन्डा स्थापित गर्न खोज्नुको मूल उद्देश्य चाहिँ भारतीय हिन्दूवादीहरुको सहयोगमा मात्रै नेपालमा राजसंस्था हुन्छ भन्ने विश्वास हो।
राप्रपामा मुस्लिम र अल्पसङ्ख्यकहरूको उपस्थिति एकदम न्यून छ। गैर हिन्दुहरू राप्रपामा सदस्यता लिन चाहँदैनन् । लिम्बुको छोरा राजेन्द्र लिङ्देन अध्यक्ष भएको पार्टीमा लिङ्देन त बुद्धिस्ट हुनुपर्ने हो किन हिन्दु धर्मको प्रतिनिधित्व गर्ने पार्टीमा गएर राजा आउँ देश बचाउ भनिरहेका छन् भनेर कुरा उठान हुन्छ । नेपालमा धर्मको आड लिएर राजनीति गर्ने राप्रपाको एजेन्डा सफल होला तरु अहिलेको वैज्ञानिक युगमा धर्मराजनिधिले भन्दा अर्थराजनीतिले बढी मान्यता पाउँछ।
धर्मयुद्ध रामायण काल र महाभारत कालमै सक्किसक्यो। अब धर्मलाई होइन विज्ञानलाई मानौँ ।