

काठमाडौं । आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै केही दिन थुनामै रहने भएका छन्।
रविका तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाई गर्दै यसको सुनुवाइ संयुक्त इजलासमा गर्ने आदेश दिएको हो।
सर्वोच्चको यो आदेशसँगै रविको बन्दीप्रत्यक्षीकरण निवेदनमा अब अर्को दिन २ जना न्यायाधीशको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। यो सँगै रविको जेल बसाई अझै लम्बिएको छ।
बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएकोमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै रवि यतिबेला थुनामै छन्।
उच्चको उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा दायर निवेदनमा सर्वोच्चले रविलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर र जिल्ला अदालत रुपन्देहीको कैफियत प्रतिवेदन मगाउने आदेश दिएकोमा आइतबार रविका तर्फबाट बन्दीप्रत्यक्षीकरणको अर्को निवेदन दर्ता भएको हो।