

काठमाडौं । एमाले नेत्री समेत रहेकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि नयाँ शिक्षा मन्त्रीमा शाक्यको नाम चर्चा हुँदै आएको छ।
एकातिर पार्टीभित्र स्वच्छ छवि भएकी भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा बाध्य बनाएको भन्दै आलोचना भइरहेको छ भने अर्कातिर नयाँ शिक्षामन्त्रीको खोजी पनि भएकै छ।
त्यस अनुसार अहिले राष्ट्रिय सभा सदस्य अन्जान शाक्य नयाँ शिक्षामन्त्री बन्ने चर्चा छ। एमालेकै कतिपय पदाधिकारीले समेत शाक्य अब शिक्षा मन्त्री हुने चर्चा गरिरहेका छन्।
शाक्य शिक्षा मन्त्री हुने भन्दै मिडियाहरूमा खबरहरू समेत आइरहेका छन्। एमाले नेताहरूका अनुसार आफू अनुकूल हुन नमानेपछि ओलीले बिद्यालाई राजीनामा दिन बाध्य बनाएका थिए। अब ओलीले आफ्नै चाहअनुसारको नयाँ शिक्षामन्त्री नियुक्त गर्ने छन्।
त्यसको लागि आफ्नै ‘साली’ समेत रहेकी शाक्य उपयुक्त पात्र बहेको भन्दै उनको नाम नयाँ शिक्षामन्त्रीमा चर्चा भएको हो।
नाताले शाक्य ओलीकी ‘साली’ हुन्। निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन्। तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन्। शाक्य संखुवासभाकी हुन्।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन्। त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो। तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन्।
यसअघि पनि अध्यक्ष ओलीलाई जोडबलमा सरकारले शाक्यलाई राष्ट्रिय याेजना आयाेग सदस्य नियुक्ति गरेकाे थियाे। त्यसबेला उनी एमाले परराष्ट्र मामिला विभाग सचिव थिइन्। उनकाे नाम एमालले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा राखेको थियाे।
ओलीले आफू प्रधानमन्त्री हुदाँ इजरायलको राजदूत समेत बनाएका थिए ओलीले। ३० चैत २०८० मा पनि ओलीकै सिफारिसमा सरकारले राष्ट्रियसभाको सदस्य पदमा शाक्यलाई मनोनयन गर्यो। रिक्त रहेको एक सदस्य पदमा शाक्य एमाले कोटामा सिफारिस भएकी हुन्।
‘आफ्नालाई चेप्ने र विरोधीलाई सिध्याउने’ ओली चरित्रका कारण पनि अहिले फेरि ओलीले शाक्यलाई शिक्षामन्त्री बनाउन लागेको चर्चा भइरहेको हो। तर शाक्य आफैंले भने यसलाई खण्डन गरेकी छन्।
‘केही सञ्चारमाध्ययममा म स्वयंलाई समेत जानकारी नभएको, रुची नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘तपाईंहरूलाई जानकारी नै छ म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु। यसले केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु।’
शाक्यले अहिले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले आफू ऐन कानुन बनाउन सक्रिय भूमिकामा रहेको पनि बताएकी छन्।
‘त्यसैले अहिले तुरून्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु,’ उनले भनिन्, ‘मलाई जानकारी भएअनुसार केही मानिसले मप्रति पूर्वाग्रह राखेरनै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको छु। मेराविरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचार–प्रसार नगरिदिनु हुन् सम्पूर्ण सञ्चारमाध्ययहरुलाई अनुरोध पनि गर्न चाहन्छु।’