

काठमाडौं । शिक्षामन्त्रीबात राजीनामा दिएकी विद्या भट्टराईले आफूमाथि प्रधानमन्त्री केपी ओलीका श्रृंखलाबद्ध अपमान र दबाब सहन नसकेपछि त्यस्तो निर्णय लिनु परेको खुलेको छ।
शिक्षक आन्दोलनले चर्को दबाब बढ्दै गएपछि त्यसलाई थेग्न नसकेर उनले राजीनामा दिएको भनिए पनि यथार्थ भने फरक छ। प्रधानमन्त्री ओलीले तल्लो स्तरकै शब्दमा समेत अपमान गर्न थालेपछि त्यसलाई सहन नसकेर उनले राजीनामा दिएको पाइएको हो।
कतिसम्म भने, गएको पुसमा अर्थ मन्त्रालय अन्तर्गतको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ओलीले भट्टराईलाई ‘एकल महिला’ अर्थ लाग्ने शब्दावली प्रयोग गरेका थिए।
त्यति मात्रै होइन, ओलीले त्यस्ता ‘महिलासँग काम गर्न नसकिने रहेछ’ भनेर होच्याए। बैठकमा सहभागी एक सचिवका अनुसार ओलीले पटक-पटक यस्ता शब्द दोहोर्याउँदै भनेका थिए, ‘आफ्नो बुद्धि पनि नहुने, अरूले भनेको पनि नमान्ने।’
त्यसबाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रश्न राख्ने प्याब्सनलाई कारबाही नगरेपछि ओलीले भट्टराईलाई अपमान गरेका थिए।
प्याब्सन अन्तर्गतका विद्यालयमा पढाइ हुने सामाजिक अध्ययन विषयमा बालेन शाहबारे एउटा प्रश्न राखिएको थियो। ओली प्रधानमन्त्री नहुँदै २०८० सालमा कक्षा ९ को परीक्षामा सोधिएको उक्त प्रश्नमा भनिएको थियो, ‘बालेन शाहले नेतृत्व सम्हालेपछि काठमाडौं महानगरपालिकाले एक वर्षभित्र नै मुहार फेरिसक्यो, तर देशका अन्य स्थानीय निकायहरूमा परिवर्तन देखिएको छैन, किन होला ? आफ्नो विचार लेख्नुहोस्।’
प्रधानमन्त्री बनेपछि उक्त प्रश्नमा ओलीको नजर पुग्यो। त्यसलगत्तै उनले मन्त्री भट्टराईलाई बोलाएर बालेनबारे प्रश्न बनाउनेलाई कारबाही गर्न निर्देशन दिए।
मन्त्री भट्टराईले यसमा कारबाही गर्ने कुनै कानुनी आधार नरहेको तर्क गरिन्। ‘यो प्रश्नावलीमा कसलाई के आधारमा कारबाही गर्ने ?’, मन्त्री भट्टराईले प्रश्न गरिन्।
प्रत्युत्तरमा ओलीले भने, ‘कारबाही गर्न नसक्ने भए किन मन्त्री हुने ?’
ओलीबाट पुनः अपमान भोगेपछि मन्त्री भट्टराईले राजीनामाको मनस्थिति बनाएकी थिइन्।