

काठमाडौं । गभर्नर सिफारिसका लागि बनेको समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । लामो समयसम्म पनि समितिकाे बैठक नबसेपछि भट्टराईले राजीनामा दिएका हुन् ।
राजीनामा दिँदै भट्टराईले गभर्नर चयनमा समितिको भूमिका नै नजरअन्दाज गरिएकाे आरोप लगाएका छन् ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । जसमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेललाई सदस्यकाे रूपमा चयन गरिएको थियो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ मा सकिएको थियो। नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनु १ महिनाअगावै नियुक्ति गरिसक्नुपर्छ। तर, हालसम्म पनि नियुक्तिबारे निर्णय लिन सकेको छैन । समिति बनाएको २१ दिन बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक बोलाएका छैनन् ।