निरन्तर दबाब दिएर शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेका ओलीले के भने ?-Sutra News

निरन्तर दबाब दिएर शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेका ओलीले के भने ?

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको दाबी गरेका छन्।



नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टिबारे जनाए।

उनले भने, ‘उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।’

जबकि प्रधानमन्त्री ओलीले तल्लो स्तरकै शब्दमा समेत अपमान गर्न थालेपछि त्यसलाई सहन नसकेर उनले राजीनामा दिएको पाइएको छ।

कतिसम्म भने, गएको पुसमा अर्थ मन्त्रालय अन्तर्गतको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ओलीले भट्टराईलाई ‘एकल महिला’ अर्थ लाग्ने शब्दावली प्रयोग गरेका थिए।

त्यति मात्रै होइन, ओलीले त्यस्ता ‘महिलासँग काम गर्न नसकिने रहेछ’ भनेर होच्याए। बैठकमा सहभागी एक सचिवका अनुसार ओलीले पटक-पटक यस्ता शब्द दोहोर्‍याउँदै भनेका थिए, ‘आफ्नो बुद्धि पनि नहुने, अरूले भनेको पनि नमान्ने।’

त्यसबाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रश्न राख्ने प्याब्सनलाई कारबाही नगरेपछि ओलीले भट्टराईलाई अपमान गरेका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैङ्कक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार