

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीविनाको एमाले कसैले कल्पना गरेको भए पूरा नहुने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुबिनाको एमाले र एमालेबिनाको नेपालको खोजी भइरहेको भन्दै आपत्ति जनाए।
‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०–२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ उनले भने।
एमालेभित्र अहिले पूर्वराष्ट्रपति विद्या भण्डारी पुन: अध्यक्ष हुने चर्चा चलिरहेका बेला ओलीले ओलीबिनाको एमाले खोजिएको जिकिर गरे।
अहिले एमालेबिनाको नेपाल खोजी भइरहेको भन्दै आपत्ति जनाए ।
‘किन खोजिँदैछ केपी ओली बिनाको एमाले ? मनसाय राम्रो भएको भए छाडिदिन्थेँ,’ उनले भने, ‘केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल चाहियो रे ? मिसन ८४ मा हेरौला ?’
अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने दावी गरे।