

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भएपनि आफूहरुले अवसर नपाएको बताए।
नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो परिवारका सदस्यहरु गुमाउँदै, आन्दोलनमा लड्दै साथ दिएको भएपनि आफूहरुले अवसर नपाएको गुनासो गरे।
‘हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो, हामीले उहाँको आदेश मानेकै हो,’ विप्लवले भने, ‘आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं। उहाँहरुले हामीलाई हेर्नु हुदैन र? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले? एकचोटि हेरे हुन्छ नि त। सधैं आफैं हुनुपर्छ र? त्यो के अर्को राजतन्त्र भएन र?दलीय व्यवस्थाको नाममा कति पटक अध्यक्ष हुने? कति वर्ष महासचिव हुने मान्छे? त्यसकारण अब समय आएको छ। यसमा हामी सबै एकजुट भएर नेपाली जनतालाई अपिल गर्नुपर्छ। सबैलाई हेर्नुभयो एकचोटि हामीलाई पनि हेर्नुस् भन्ने अधिकार हामीलाई छैन र?’