अरूलाई अपजस दिने ओली आफैंले आफ्नो सत्ताविरूद्ध बढाइरहेका छन् संकट-Sutra News

अरूलाई अपजस दिने ओली आफैंले आफ्नो सत्ताविरूद्ध बढाइरहेका छन् संकट

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडौं । बुधबार नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाए।



मंगलबार शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि कतिपय एमाले नेताहरूले नै शिक्षा विधेयक ल्याउन प्रधानमन्त्री ओलीले असहयोग गरेकै कारणले भट्टराईले पदबाट राजीनामा दिनु परेको आरोप लगाउँदै आइरहेका छन्। हुन पनि ओलीको निरन्तरको दबाब अनि उपेक्षादेखि तल्लो स्तरकै शब्दमा समेत अपमान गर्न थालेपछि त्यसलाई सहन नसकेर उनले राजीनामा दिएकी थिइन्।

तर ओलीले यसबारे आफ्नो बचाउ गर्दै भनेका छन्, ‘उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।’

यही विषयमा कतिपय नेतादेखि मिडियाहरूले पनि आफ्नो आलोचना गरेको भन्दै ओली रिसाएका थिए। त्यसपछि उनले भनेका छन्, ‘विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन्। हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ।’

त्यसका अलावा सत्ता साझेदार नेपाली कांग्रेसले पनि शिक्षक आन्दोलन, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त लगायतका निर्णयहरूमा ओलीसँग फरक मत राखिरहेको छ। अझ शिक्षक आन्दोलनका सन्दर्भमा त कांग्रेससहित प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले शिक्षकको माग पूरा गर्न दबाब दिएका छन्।
***
प्रधानमन्त्री ओलीले त्यस कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक जाँदा पनि सरकार ढल्ने हल्लासँग जोड्न खोजिएको भन्दै असन्तुष्टि जनाए। सभापति देउवा परिवारका सदस्यहरूसहित आइतबार बैंकक प्रस्थान गरेका थिए।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजियो,’ उनले भने।

नेकपा (एमाले) र कांग्रेसबीच भएको सहमतिअनुसार अबको १५ महिनापछि आफूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने उनको भनाइ थियो। तर अघिल्लो बिहीबार कांग्रेसको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीसँगको छलफलमा नेताहरूले एमालेसँग सत्ता गठबन्धन लामो समय जाने-नजाने बारे आशंका गरेका थिए।

उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतले पछिल्ला दिनमा गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा ओली एकछत्र हाबी भइरहेको भन्दै कांग्रेसजस्तो संसदको पहिलो पार्टीले साझेदारीलाई कसरी अगाडि बढाउँछ भनेर देउवालाई सोधेका थिए।

जवाफमा देउवाले आफू एकपल्ट बैंकक गएर फर्किने, बाँकी सल्लाह त्यसपछि गरे पनि हुने भन्दै प्रतीक्षा गर्न आग्रह गरे। देउवा अहिले औषधि उपचारका गर्न झण्डै एक साताका लागि बैंककमा छन्।
***
प्रधानमन्त्री ओलीले निरन्तर दबाब दिएपछि नै राजीनामा दिएकी विद्या भट्टराईको समर्थनमा अहिले एमालेभित्रै माहोल बनिरहेको छ। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षमन्त्रीबाट राजीनामा दिएकी विद्या नैतिक धरातल उच्च भएको बताएकी छन्।

उपाध्यक्ष शाक्यले भट्टराईको राजीनामाको विषयलाई लिएर ओलीलाई प्रश्न गर्दै भनेकी छन्, ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो ? विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’

त्यस्तै, एमाले नेता उषाकिरण तिमिल्सेनाले भट्टराईले राजीनामा दिनु घटना भए पनि ‘विद्याहरूलाई टिक्न नदिने’ अभ्यास भएको टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्, ‘विद्या दिदीले राजीनामा दिनु घटना हो तर विद्याहरू टिक्न नसक्नु वा नसक्ने बनाइनु हाम्रो अभ्यासमा गम्भीर समस्या हो।’

विद्याको राजीनामालाई लिएर सांसद तथा मन्त्रीहरूबीच पनि फरक-फरक मत देखिएका छन्। एमाले सांसद सूर्य थापाले फेसबुकमा लेख्दै भट्टराईले राजीनामा दिन जरूरी नभएको बताएका छन्। भट्टराईको राजीनामा अनपेक्षित र असान्दर्भिक भएको भन्दै उनले यसलाई स्वीकृत गर्न नहुने भनेका छन्।

थापाले फेसबुकमा लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिन जरूरी नै थिएन। मेरो सुझाव छ- उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्न/बढाउन सम्भव हुनेछ।’

यस प्रकरणमा प्रधानमन्त्री ओलीको पक्षमा उभिने नेता एकजना मात्र देखिएका छन्। उनी हुन्- एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत।

उनले शिक्षक आन्दोलन नटुंगिएपछि भट्टराईले राजीनामा दिएको भन्दै नयाँ मन्त्री ल्याउनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘शिक्षकहरूको आन्दोलन नटुंगिनु र शिक्षक महासंघसँग वार्ता गर्न नसकेपछि उहाँको राजीनामा आउनु मन्त्री स्वयंको कमजोरीको संकेत हो।’
***
प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति, नीति र कार्यशैलीले एकपछि अर्कोलाई असन्तुष्ट बन्दै गएका छन्। कांग्रेसको संस्थापनइतर समूह, प्रमुख प्रतिपक्षी दल माओवादीसहित अन्य दल, राजावादी आन्दोलनकारी, शिक्षक–कर्मचारी, छिमेकी देश भारतलगायत धेरै पक्ष ओलीसँग आजित देखिन्छन्। आफ्नै दल एमाले भित्रसमेत ओलीप्रति असन्तुष्टिका रेखाहरू सतहमा आउन थालेका छन् भने नयाँ ध्रुवीकरण बढ्दो छ।

तर यति हुनैगर्दा पनि कांग्रेस सभापति देउवा भने अहिलेसम्म ओलीका दाहिना देखिएका छन्। देउवाले सार्वजनिक कार्यक्रमहरूबाट ‘हामी जेल मेट हौँ, ओलीजीले प्रधानमन्त्रीका रुपमा राम्रो काम गर्नुभएको छ, हाम्रो सरकारलाई पूर्ण समर्थन छ’ भन्न थालेको लामै समय भएको छ। त्यसैको आडमा पनि ओलीले एकलौटी ढंगले मनमौजी गरिरहेका छन्। जसको कारण जनताको तहसम्मै असन्तुष्टि छ।

कतिसम्म भने, अघिल्लो बिहीबारको पार्टीको बैठकमा समेत देउवाले नेताहरूको प्रश्नमा भनेका थिए, ‘एउटै पार्टीभित्र त नियुक्ति, बढुवा आदिमा कत्रो लफडा पार्छन्, यो त गठबन्धन हो। धेरै यताउता हुँदैन, अलिअलि चित्त बुझाउनुपर्छ। ओलीजीको शैली पनि त छ आफ्नै खालको।’

त्यसैले पनि ओलीलाई सुकुन छ। सत्ता पक्षमा रहेका उपेन्द्र यादव, महन्थ ठाकुर, डा. सीके राउत र रेशम चौधरीले पनि ओली सरकारको आलोचना गर्न बाँकी राखेका छैनन्, सरकार बाहिरबाटै समर्थन गरिरहेका उपेन्द्र र सीकेले भने विपक्षी दलका नेताजस्तो ओली सरकारको आलोचना गरिरहेका छन्। ‘राप्रपा र राजावादी’ चैत्र १५ गतेको तीनकुने हिंसामा आफ्ना नेता कार्यकता गरिएको भनेर असन्तुष्ट छन्।

अझै ओलीलाई फरक परेको छैन। नयाँ दल रास्वपा सहकारी ठगी प्रकरणमा आफ्ना अध्यक्ष रवि लामिछाने जेल पर्नुलाई ओली सरकारको राजनीतिक प्रतिशोध ठान्दछ। त्यसमा ओली नै त्यसको मूख्य दोषी रहेको उसको ठहर छ।

शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन यतिबिघ्न चर्को रुप लिंदा समेत कुनै निष्कर्ष निस्किएको छैन। शिक्षक ओली सरकारसँग नराम्ररी चिडिएका छन्। शिक्षक मात्र होइन, ओली सरकारसँग कर्मचारीसमेत उत्तिकै चिडिएका छन्। अझ प्रधानमन्त्री भने सार्वजनिक रुपमै उनीहरूलाई होच्याउने किसिमका अभिव्यक्ति दिइरहेका छन्।

उता छिमेकी देश भारतसँगको सम्बन्ध सुमधुर रहेको देखिन्न। ओली सरकारको निरन्तरको प्रयत्नका बावजुद भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन। तर पनि देउवाको छैटौपटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले प्रधानमन्त्री ओलीको रजगज चलिरहेकै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार