देउवा स्वास्थ्य उपचारका लागि मात्रै बैंकक गएका हुन् भन्नेमा कांग्रेसभित्रै अविश्वास-Sutra News

देउवा स्वास्थ्य उपचारका लागि मात्रै बैंकक गएका हुन् भन्नेमा कांग्रेसभित्रै अविश्वास

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२
file

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी ओलीको आह्वानमा तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल गर्न बालुवाटार पुगे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।



एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भएको उक्त बैठकमा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको थियो। तर बैठक भने त्यतिमा मात्र सीमित नभएको धेरैले आंकलन गरिरहेका छन्।

किनभने सडकमा राजावादी समूहहरू तातिरहेका बेला तीन शीर्ष नेताहरू भेट्नुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन्। स्वास्थ्य फलोअपको बहानामा उक्त बैठकपछि सत्तारुढ कांग्रेस सभापति देउवा पत्नी आरजु राणासहित आजै बैंकक उडेका छन्।

त्यसै पनि अहिले विपक्षी नेता प्रचण्डले माओवादी केन्द्रको तर्फबाट देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा आपत्ति नहुने भन्दै दिइरहेका संकेत र त्यसपछिका पृष्ठभूमिले कांग्रेसमा तरंग छ। देउवा बाहेक अरू पदाधिकारी पनि एमाले-कांग्रेस गठबन्धन बारे बेखर छन्। एक साताअघि महामन्त्री गगन थापाले पनि कुन बेला गठबन्धन भत्किन्छ वा बन्छ भन्ने बारे आफूहरूलाई थाहै नहुने बताएका थिए।

यस विषयले अघिल्लो बिहीबार बुढानीलकण्ठमा भएको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीसँगको छलफलमा समेत प्रवेश पाएको थियो। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले एमालेसँग सत्ता–गठबन्धन कत्तिको सहज जाला भनेर उठेका आशंकाबारे देउवासँग प्रश्न गरेका थिए।

जवाफमा देउवाले आफू एकपल्ट बैंकक गएर फर्किने, बाँकी सल्लाह त्यसपछि गरे पनि हुने भन्दै प्रतीक्षा गर्न आग्रह गरे। तर देउवाको उक्त जवाफमा महामन्त्री शर्माको भने चित्त बुझेन।

त्यसपछि उनले फेरि सोधे, ‘सभापतिज्यू, तपाईंले सरकारको आयुबारे जति ढुक्क पार्न खोजे पनि यो बीचमा काठमाडौंमा भइरहेका विभिन्न खालका भेटवार्ता, उठबसबारे तपाईंलाई जानकारी नहुने कुरै भएन। यही बेला तपाईं बैंकक जाँदै हुनुहुँदो रहेछ। के छ बैंककमा ?’

‘केही छैन यार। स्वास्थ्यको फलोअप। त्यत्ति हो,’ देउवाले भनेका थिए।

पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा उपसभापति र महामन्त्री तहका नेताहरू समेत एमाले-कांग्रेस गठबन्धनको आयुबारे ‘कन्भिन्स’ हुन सकेनन्। त्यसबाट देउवाले प्रचण्डसँग नयाँ केही न केही गर्न लागेको लुक्दैन। किन पनि भने, काठमाडौंमा सत्ता ढलपल हुने हो कि भन्ने आशंकाबीच देउवाको यो भ्रमण हुँदैछ।

प्रधानमन्त्री ओलीले पनि आज नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवस मंगलबार आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवा थाइल्याण्डको बैंकक जाँदा पनि सरकार ढल्ने हल्लासँग जोड्न खोजिएको भन्दै असन्तुष्टि जनाए।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजियो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार