

महाभारतमा कुमारी आमा कुन्ती (शुरसेनकी छोरी)को कथा छ । कुन्तीले ऋषि दुर्वासाको वशीकरण मन्त्र पाएकी थिइन् । त्यो मन्त्रमा यस्तो शक्ति थियो कि कुन्तीले देवता समेत आफ्नो वशमा ल्याउन सक्थिन् । एक दिन सबेरै कुन्ती बाहिर निस्किएर सुन्दर प्रकृतिको आनन्द लिइरहेकी थिइन् । आकाश गंगामा उदाएको त्यो बिहानी पखको सुरम्य सूर्यले उनको ध्यान खिच्यो । त्यो सूर्य उनलाई यति राम्रो लाग्यो कि आफै मोहित भइन् र पृथ्वीमा बोलाइन् ।
वशीकरण मन्त्रको प्रभावले सूर्य ऋषि रूप धारण गरी पृथ्वी लोकमा ओर्लिएर कुन्ती सामु आए । सूर्यले नम्रपूर्वक भने, “कुन्ती तिमीले मलाई प्रेमले सम्झियौ, म आएँ, भन म तिम्रो के सेवा गरूँ !”
कुन्तीले भनिन्, “हजुर जस्तो महान् र विश्वको सर्वोच्च शक्तिमान देव अगाडि पाउँदा म अत्यन्तै पुलकित छु ।”
दुवैले प्रेमपूर्वक आलिङ्गन गरेर सशरीर मिलन गरे । बासनायुक्त आलिङ्गनबाट छुट्टिएपछि कुन्तीलाई आफ्नो गल्तीको महसुस भयो र उनले सूर्यलाई भनिन्, “सूर्यदेव तपाईँ र मेरो मिलनबाट बच्चा जन्मिँदै छ । म कुमारी हुँ र कुमारी आमाको पेटबाट जन्मिएको बच्चा अवैध हुन्छ । समाज यो कुरालाई मान्न तयार छैन । अब म यो समाजलाई मुख देखाउन पनि लायक हुने छैन भन्नुस्, अब म के गरूँ ?”
कुन्तीको विलाप सुनेर सूर्यदेवले आफ्नो कानमा लगाएको कुण्डल दिँदै भने, “यो कुण्डल उसको कानमा लगाएर एउटा बाकसमा राखेर यसलाई नदीमा बगाइदिनु, म उसको रक्षा गर्नेछु ।” पछि तिनै कर्ण भएर जन्मिए । र, समाजबाट जोगिनका लागि सूर्यले भने जस्तै गरेर कुन्ती माताले पनि आफ्नो बच्चालाई एउटा बाकसमा राखेर बगाइदिइन् ।
अश्व नदीबाट बग्दै त्यो बाकस गंगा नदी हुँदै सुत राज्य पुग्यो । कुन्ती शान्त भइन् । आमा कुन्ती बाचुन्जेल कर्णको मायाको घाउले विक्षिप्त भइरहिन् । कर्णले बाचुन्जेल आफूलाई जन्मजात नदीमा फालिदिएको गुनासो गरिरहे आमासँग ।
महाभारतमा कर्णको गुनासो कुन्तीले आजीवन सुन्न परेजस्तै नेपाल आमाले पनि आफ्ना छोराछोरीको गुनासो आजीवन सुनिरहेकी छिन् । सत्ताको स्वादको कपटी लडाइँ अझै पनि सकिएको छैन । सत्ताको मादमा मदोन्मिद छोराछोरी आमालाई मारेर भए पनि आमालाई भाग लगाएर पनि आमालाई लुछेर चुँडेर टुक्रा–टुक्रा पारेर भए पनि आफ्नै भागमा ठुलो चोक्टा परोस् भन्ने नियतिमा रमाइरहेका छन् हाम्रा नेता र तिनका पार्टीहरू । देश सकिए सकियोस्, यिनीहरूका नक्कली अनुहारमा दुखेसो देखिन्न ।
आज सबैको तारो भएका छन्, प्रधानमन्त्री केपी ओली । मूर्ख राजाको नाङ्गो रूपलाई एउटा बालकले मात्रै सत्य बोलेर ‘राजा त नाङ्गै छन्’ भनेपछि मात्रै सबैले नाङ्गो देख्छन् । राजा यति अहंकारी थिए कि म विश्वको सबैभन्दा राम्रो र सुन्दर पहिरनमा छु भन्ने अहंकारको अगाडि तिनका दासहरूले मालिक नाङ्गो हुँदा पनि नाङ्गो छ भनिदिएनन् । यस्तै हुन् ओली पनि । आफू नाङ्गो भइसके, आफ्नै पार्टीको मान्छेले पनि खराब भन्न थालिसके, तैपनि उनको चेतको पर्दा खुल्दैन ।
आमालाई मात्रै गुनासो गर्ने महाभारतको कर्ण भएर अब काम छैन । गुनासो सुन्ने कान बन्द गरेर कतिन्जेल बस्ने ?
इतिहासमा कुनै दिन गरेको कुन्तीको एउटा भुलले गर्दा आजीवन विक्षिप्त बनेकी उनी सधैँ दोषको भागी बनिरहिन् । तर, अब त्यो छुट छैन । जनगुनासोलाई रद्दीको टोकरीमा हालेर कतिन्जेल अहंकारी राजा बन्ने, जो नाङ्गै भएर पनि मैले संसारको सबैभन्दा सुन्दर कपडा पहिरिएको छु भनेर भ्रममा बाच्ने ?
समाज गतिशील छ । गतिशील समाजको गतिशील सोचलाई कर्णको अबोध शिशु शरीरलाई बाकसमा छोपेर नदीमा बगाए जस्तै बगाउन खोज्यो भने फेरि धर्तीले सबैसँग बदला लिन्छिन् ।