छुट्टीको मौकामा बहिनी-ज्वाइँ र आमासँग काश्मीर घुम्न गएका थिए सुदिप, आतंकवादी हमलाबाट मारिए-Sutra News

छुट्टीको मौकामा बहिनी-ज्वाइँ र आमासँग काश्मीर घुम्न गएका थिए सुदिप, आतंकवादी हमलाबाट मारिए

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । भारतको जम्मू काश्मीरको पहलगाममा भएको आक्रमणबाट बुटवलका सुदिप न्यौपानेको मृत्यु भएको छ।



मंगलबार जम्मु-काश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणमा उनको मृत्यु भएको गृहमन्त्री रमेश लेखकले जानकारी गराए।

उनका अनुसार नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका सुदिप बिदाको समयमा आमा-बुबा र दिदीसँग घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको हो।

२४ वर्षीय सुदिप शनिबार मात्र आमा रिमासहित बहिनी सुस्मा र ज्वाइँ उज्वल काफ्लेसहित घुम्नका लागि भारत गएका थिए। तर उनी बाहेकका अन्य तीनै जना सकुशल छन्।

सुदिपको शव आज साँझसम्म काठमाडौं ल्याउने तयारी भइरहेको छ।

सन् २०१९ को पुलवामा आक्रमणपछि भारतको जम्मू-कश्मीरमा भएको यो सबैभन्दा ठूलो बन्दुकधारी आक्रमण हो। आक्रमणमा २६ जनाभन्दा बढीको मृत्यु भएको थियो।

घटना मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ। सो स्थान पर्यटकमाझ चर्चित छ।

त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली हानी हत्या गरिएको हो। आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ।

बन्दुकधारीहरूले एक पर्यटकलाई उनको नाम सोधेपछि टाउकोमा गोली हानेका थिए।

यसपछि उनीहरूले अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेको समाचारमा उल्लेख छ। यस क्रममा करिब ५० राउन्ड गोली चलाइएको थियो। आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।

मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन्। केही पर्यटकहरू घाइते छन्।

घटनापछि, सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। अहिले त्यस क्षेत्रमा हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।

आक्रमण चार जना बन्दुकधारीले गरेको बताइएको छ। जसमध्ये तीन जना पाकिस्तानी नागरिक र एक जना स्थानीय कश्मीरी भएको भारतीय मिडियाले खबर लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार