जम्मू-कश्मीर आतंकवादी हमलाका आक्रमणकारी को हुन् ?-Sutra News

जम्मू-कश्मीर आतंकवादी हमलाका आक्रमणकारी को हुन् ?

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

एजेन्सी । भारतीय अधिकारीहरूले जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि आक्रमण गर्ने तीन संदिग्धको पहिचान गरेका छन्। भारतीय अधिकारीले घटनामा बाँच्न सफल भएकाको सहयोगमा तीन संदिग्धको स्केचसमेत तयार पारेका छन्।



आक्रमणकारीहरू आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको अधिकारीहरूलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ। पीटीआईका अनुसार उनीहरूको उपनाम मुसा, युनुस र आसिफ हो।

जम्मू-कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा बुटवलका युवा सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको हो। मारिनेमध्ये र बिटन अधकेरी उधवानी कुमार संयुक्त अरब इमिरेट्सका नागरिक छन्। अन्य मृतकहरू भारतीय राज्य उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसका पर्यटक हुन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार आतंकवादीले पर्यटकरूको नाम सोधेपछि गोली प्रहार गरेका थिए। उत्तर प्रदेशका सुभम द्विवेदीसँग आक्रमणकारीले नाम सोधेको र पछि गोली प्रहार गरेको बताइएको छ। त्यसपछि भने अन्य पर्यटकमाथि पनि गोली हानिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आक्रमणकारीहरू जम्मूको किश्तवाडबाट सीमा पार गरेर दक्षिण कश्मीरको कोकरनाग हुँदै बैसरन पुगेको बताइएको छ। भारतीय अधिकारीहरूका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लश्कर-ए-तैयबा (एलईटी) को छायाँ संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ।

जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो। त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए। पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरूमा पनि उच्च सतर्कता अपनाइएको छ।

आक्रमणपछि भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले घटनास्थलको अवलोकन गरेका छन्। मंगलबार नै कश्मीरको सबैभन्दा ठूलो सहर श्रीनगर पुगेका शाहले सुरक्षा अवस्थाबारे आपत्कालीन बैठक राखेका थिए।

साउदी अरबमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि भ्रमण छोट्याएर बुधबार बिहानै भारत फर्केका छन्। मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा हमलाको कडा शब्दमा निन्दा गरेका छन्। ‘आतंकवादविरुद्ध हाम्रो अठोट डगमगाउँदैन र यो अझै बलियो हुन्छ,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार