

काठमाडौं । सेयर बजार लगातार ओरालोमा यात्रामा छ । साताको सुरुवातदेखि नै घट्न थालेको बजारमा बुधवार पनि गिरावट कायमै रह्यो । बुधवारको कारोबारसँगै बजार २६५५.९४ को बिन्दुमा ओर्लिएको छ । बुधवार ३२.३८ अंकले बजार घटेको छ ।
आइतबार १६.६८ अंकले घट्दै ओरालो यात्रालाई समाएको बजारमा ४ कारोबार दिनकै बिचमा ६६.७९ अंकले गिरावट आएको छ । बुधवार गिरावट यो साताको सबैभन्दा उच्च हो ।
निरन्तर गिरावटका बिच लगानीकर्ताको मनोविज्ञान पनि क्रमशः बिग्रिएको देखिन्छ । जसको कारण कारोबार रकम पनि क्रमशः घट्दो क्रममा छ । गत साताको अन्तिम कारोबार दिन १० अर्ब ५० करोड माथिको कारोबार भएको बजारमा बुधवारसम्म आउँदा ७ अर्ब ५७ करोड रुपैयाँमै सीमित भयो । जुन यो साताकै कम कारोबार रकम हो ।
विशेषगरी नयाँ गभर्नर नियुक्तिको हल्लासँगै बजारमा केही उत्साह देखिएको थियो । जसबाट लगानीकर्ता प्रभावित हुँदा सूचक र कारोबार रकममा क्रमशः वृद्धि देखिएको थियो ।
तर, गभर्नर नियुक्तिको विषय लगानीकर्ताको अपेक्षाअनुसार सजिलो बनेन । सरकार नयाँ गभर्नर सिफारिस गर्न सकेन भने सिफारिस गर्न बनाइएको समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले नै राजीनामा दिए । उनको राजीनामासँगै नियुक्तिको निकै पेचिलो देखिएको छ ।
कतिपयले गभर्नरको विवादकै कारण सरकार ढल्न सक्ने चर्चा समेत चलाएका छन् । जसबाट सेयर बजारका लगानीकर्ता प्रभावित भएको देखिन्छ ।
योबिचमा बैंक तथा वित्तीय संस्थाहरूको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । तर, मौद्रिक नीतिमा प्रावधान अनुकूलित बन्दासमेत अधिकांश संस्थाहरूले नाफा बढाउन सकेनन् । केही संस्थाहरूको नाफा उच्च गिरावट आएको छ भने खराब कर्जा उच्च तहमा वृद्धि भएको छ । जसको प्रभाव पनि बजारमा परेको देखिन्छ ।
बजारका जानकार तथा साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी विशेषगरी गभर्नर नियुक्तिको विषयमा देखिएको अन्यौलता नहटेसम्म बजारमा लय नफर्किने बताउँछन् । उनका अनुसार यतिबेला अधिकांश लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।