

काठमाडौं । विगत दुई/तीन दिनयता अभिनेत्री सुरक्षा पन्तको एक अन्तर्वार्ताको क्लिपलाई लिएर चर्चा भइरहेको छ। जहाँ उनले पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा टिप्पणी गर्दै उनलाई फिल्म क्षेत्रमा लाग्न सुझाएकी छन्। त्यसपछि राजावादीहरूले ‘राजाको छोरा राजा नै हुने, हिरो नहुने’ भन्दै सुरक्षालाई तथानाम गाली गरिरहेका छन्।
अन्तरवार्तामा सुरक्षालाई हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न भनिन्छ। जवाफमा उनले भन्छिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ… पारसको छोरो होइन ? के रे नाम ?’ कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनी थप्छिन्, ‘उहाँको ठुलो फ्यान छ नि दाइ… योङ्स्टर नानी केटीहरू, धेरैले उहाँलाई मन पराउनुहुन्छ।’
कार्यक्रममा उनलाई फेरि भविस्यमा कुन रूपमा हेर्न चाहनुहुन्छ ?’ भनेर प्रश्न राख्छन्। ‘आउनुस् फिल्म इन्डष्ट्रीमा। राम्रो हुनुहुन्छ। लुक्सहरु राम्रो छ। आइ होप अभिनय पनि सक्नुहुन्छ होला’ उनले भन्छिन्। कार्यक्रममा उनले फिल्म क्षेत्रमा स्वागत समेत भनेकी छन्।
यत्तिकैमा प्रस्तोताले केही नेताले राजा बनाउन चाहेको प्रसङ्ग मिसाउँछन्। सुरक्षा भन्छिन्, ‘राजा बनाउने व्यवस्था त हामीले स्वीकारकै छैनौँ। कहाँ राजा त भन्न सकिन्न।’
अन्तरवार्ताको यो क्लिपलाई लिएर अहिले राजावादीहरू भद्दा गालीगलौजमा उत्रिएका छन्। जसको प्रभाव सुरक्षाको प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’माथि प्रभाव पर्नसक्छ। हुन त राजावादीहरूले उनको फिल्म नै बहिष्कार गर्नेसम्मको धम्की दिइरहेका छन्।
एउटा अभिव्यक्ति नै स्वीकार गर्न नसक्ने कस्ता राजावादी !
त्यसो त राजावादीले सुरक्षालाई गालेगलौज मात्र गरिरहेका छैनन्, केही बौद्धिक तप्का भने सुरक्षाकै पक्षमा उभिएको छ। डाक्टर निर्मल कँडेल सामाजिक संजाल एकसमा लेख्छन्- सुरक्षा पन्तको फ्यान त थिएँ नै, अझ बढि फ्यान भइयो। मनिषा कोइराला र सन्तोष पन्तलाई यो भिडियो क्लीप हेर्न भन्न पर्यो। प्रश्न सोध्नेले पनि राम्रो जवाफ पायो।’
सुरक्षाको उक्त अभिव्यक्तिपछि ‘अब बुझेको युवाले दासता स्विकार्दैन बरू देश त्याग्छन्, दल वा मण्डले दास बन्दैनन्’ भन्दै उनको तारिफ समेत भइरहेको छ। त्यसै पनि सुरक्षा कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नायिका हुन्। उनी आफैंमा त्यो सम्मान अन्तर्राष्ट्रिय स्टेजमा लिन सक्ने मान्छे भएकाले पनि राजावादीको बहिष्कारले फरक नपर्ने उनी समर्थकको तर्क छ।