कांग्रेसमा बहस : ओली सरकारलाई सच्याउने कि विकल्प खोज्ने ?-Sutra News

कांग्रेसमा बहस : ओली सरकारलाई सच्याउने कि विकल्प खोज्ने ?

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । विशेषगरी पार्टी सभापति शेरबहादुर देउवा निकट केही र सरकारसँग जोडिएका नेताहरू सरकारको विकल्प खोज्न नसकिने गरी देखिएका छन् भने इतर समूह र संस्थापनकै सरकार बाहिर रहेका नेताहरू सरकारको विपक्षमा देखिएका छन् ।



अहिले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा सरकारकै विकल्प खोज्ने गरी अगाडि देखिन्छन् । थापाले सरकारको रुखो आलोचना मात्रै गरिरहेका छैनन्, खुलारुपमै ‘ओली सरकारलाई अब काँध नहाल्ने’ बताइसकेका छन् । अर्का महामन्त्री शर्माको पनि सरकारबारे उस्तै धारणा देखिन्छ ।

इतर समूहका डा. शेखर कोइरालासहितका नेताहरू पनि ओली सरकारलाई कायमै नराख्ने पक्षमा देखिन्छन् । कोइरालाले सरकारलाई भ्रष्ट र असफल मात्रै भनेका छन्, विकल्प खोज्न कांग्रेस नेतृत्व तयार हुनुपर्ने पनि बताइरहेका छन् ।

तर, यहीबिच देउवा निकटस्थ नेताहरू भने तत्काल सरकारको विकल्प खोज्न नसकिने ढंगबाट अगाडि आएका छन् । उपसभापतिसमेत रहेका नेता पूर्णबहादुर खड्काले सरकारलाई सच्याएर लानुपर्ने अभिव्यक्ति दिएका छन् । उनले सरकारको कार्यशैली सच्याएर, असन्तुष्टिलाई सम्बोधन गरेर जानुको विकल्प नभएको टिप्पणी सार्वजनिकरुपमा व्यक्त गरेका छन् ।

“संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ, संयन्त्रमा म छु, पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्विकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन”, बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भनेका छन्, “सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ, त्यसलाई सच्याउनुपर्छ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।”

खड्काले सरकारलाई सच्याएर जानुपर्ने अभिव्यक्ति दिएकै बखत गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकले पनि सरकारभित्र समस्या नरहेको भन्दै देखिएका प्रश्नको छिट्टै निरूपण गरेर जाने बताएका छन् । अहिले विशेषगरी विवादमा देखिएको गभर्नरको विषय आगामी मन्त्रिपरिषद् बैठकबाटै टुंगिने पनि लेखकको दाबी छ ।

“बाहिर चर्चा भएजस्तो सरकारभित्र र गठबन्धनमा समस्या छैन, गभर्नरको विषयमा केही समस्या जस्तो भयो, त्यो छिट्टै टुंगिन्छ, आगामी मन्त्रिपरिषद्बाट त्यसलाई टुंग्याउने गरी छलफल बढेको छ, यसलाई ठूलो इश्यु मान्नुपर्दैन”, बुधवार सुरक्षा बिटमा कार्यरत पत्रकारहरूको भेटमा उनले भने ।

कांग्रेसले गएको वैशाख ४ मा सरकारबारे समीक्षात्मक छलफल गरेको थियो । जुन बैठकमा पनि सरकारलाई लिएर नेताहरू विभाजित देखिएका थिए । यद्यपि, कांग्रेसले गठबन्धन सरकारबाट सबै आफ्ना कुराहरू पूरा गर्न नसकिने निष्कर्षसहित यही सरकारलाई नै सही बनाउने निर्णय गरेको थियो ।

“प्रमुख प्रतिपक्षीले के भन्यो त्यो महत्वपूर्ण होइन, उसले सरकार ढलोस् भन्ने चाहिरहेको हुन्छ”, उक्त बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भनेका थिए, “हामीभित्र छलफल भयो, फरक–फरक धारणा आए, सरकारको पर्फमेन्स ठिक भएन भन्ने पनि रह्यो, तर यसैलाई ठिक बनाएर जानुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ ।”

सरकारको विषयमा धारणा बनाउन कांग्रेसले केन्द्रीय समिति बैठकसमेत बोलाएको छ । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवाको विदेश भ्रमणका कारण पूर्वनिर्धारित बैठक बस्न सकेन । देउवा स्वदेश फर्किएसँगै केन्द्रीय समिति बैठकमार्फत नै छलफल चलाउने तयारीमा कांग्रेस छ ।

अहिले विशेषगरी गभर्नरको सन्दर्भबाट गठबन्धन विवाद देखिन्छ । तर, गभर्नरको विषयमा सहमति जुटेमा विवाद निरूपण हुनेमा पनि दुबिधा देखिन्न ।

कांग्रेसभित्र इतर समूहमा मानिने उपसभापति धनराज गुरुङकै भनाइलाई आधार मान्दा गठबन्धनका बिचमा अहिले देखिएका विवाद सामान्य प्रकृतिका हुन् । उनका अनुसार यस्ता विवादले सरकारको आयुमा फरक पार्दैनन् ।

“सँगै भएपछि लात्ती लाग्छ, हात पनि लाग्न सक्छ, विवाद पनि हुनसक्छ, यी भनेका सामान्य करा हुन्”, सरकारबारे गुरुङ भन्छन्, “केही नियुक्तिमा फरक–फरक कुरा हुन सक्छन्, कतै विवाद हुनसक्छ, यस्ता कुरा मिल्दै जान्छन्, यस्ता विषयलाई लिएर गठबन्धनकै विकल्प खोज्ने वा सरकार नै ढल्ने भन्ने हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार