कान्छारामको गम्भीर आरोप- प्रधानमन्त्री ओली जनजातिलाई देखी सहदैनन्-Sutra News

कान्छारामको गम्भीर आरोप- प्रधानमन्त्री ओली जनजातिलाई देखी सहदैनन्

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । ऊर्जा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। उनले ओली जनजाति विरोधी भएको बताएका छन् ।



त्यसअघि प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री कान्छारामलाई बर्खास्त गरेका छन्।

‘मलाई हटाउनुको कारण दुई-तीनवटा त छन् नि। एउटा त जनजातिलाई देखी सहेनन्। अर्को कुलमानलाई हटाएको विषयमा अलिअलि बोलिदिएको थिएँ,’ उनले भने, ‘अर्को कारण कुनै आयोजनाको डीपीआर बनाउन एमालेले भनेअनुसारको बजेट राखेर गर्ने निर्देशन आयो मैले डीपीआरको खर्च कसले बेहोर्छ भनेर सोधेको थिएँ उनीहरूलाई चित्त बुझेन।’

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए। सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए।

तामाङका अनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए। दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए। उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए।

तामाङको जवाफ गृहमन्त्री लेखकले ओलीलाई जानकारी दिएसँगै प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका हुन्।

तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए। उनी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार