

काठमाडौं । ऊर्जा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नतिर लाग्ने बताएका छन्।
प्रधानमन्त्री ओली जनजातिलाई देखी नसहने प्रवृत्तिको भएकाले पनि उनको सरकार ढाल्न लाग्नुपर्ने कान्छारामको तर्क छ।
उनले भने, ‘अब त सरकार ढाल्नतिर लाग्ने हो नि। जनजातिलाई देखी नसहने सरकार किन राख्ने?’
उनले आफूले राजीनामा दिन आफ्नै पार्टी नेपाली कांग्रेसले निर्देशन दिनुपर्ने बताए।
‘पार्टीले फिर्ता बोलाउनुपर्यो नि, प्रधानमन्त्रीले बोलाउने हो र?,’ उनले भने, ‘म त खुसी नै छु। अनुभव भयो नि। तर मैले राजीनामा दिनुपर्ने कारण थिएन। मैले झन्डै प्रधानमन्त्रीकै जति भोट ल्याएर जितेको मान्छे पो हुँ त।’
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए। सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए।
प्रधानमन्त्री ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए। उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए। त्यसपछि ओलेले उनलाई बर्खास्त गरेका हुन्।
उनका अनुसार परराष्ट्र मन्त्री आरजु राणा थाइल्याण्ड जाँदा विमानस्थलमा ‘प्रधानमन्त्री तपाईँसँग रिसाउनु भएको छ, एक पटक भेट गर्न भन्नुभएको छ’ भनेकी थिइन्। तर आफूले प्रधानमन्त्रीसँग भेट नगरेको ओली थप रिसाएको उनको दाबी छ।
तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए। उनी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट हुन्।