

काठमाडौं । नेपाल चिकित्सक संघले भोलि देशभरका जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालय घेराउन गर्न उपत्यका र उपत्यका बाहिरका डाक्टरहरुलाई निर्देशन दिएको हो ।
संघका कार्यकारी सदस्य तेत्छु मल्लले देशभरका सम्पूर्ण चिकित्सकलाई भोलि १० देखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेर्न आग्रह गरे ।
साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।
नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ । आवासीय चिकित्सक २८ दिनसम्म पनि सडकमा उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासिनता देखाएको मल्लले आरोप लगाए ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यावन्यन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगराइकन यो अवस्था आएको संघको ठहर छ ।