करुणा र चेतना निभेको जम्बु कश्मीर घटना !-Sutra News

करुणा र चेतना निभेको जम्बु कश्मीर घटना !

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

कश्मीर । भारतको जम्बु–कश्मीर राज्यअन्तर्गत पहलगाममा घटेको आतंककारी आक्रमणमा २८ जना निर्दोष तीर्थयात्रीहरूको ज्यान गएको घटनाले सम्पूर्ण मानव जातिको अन्तरात्मामा गहिरो चोट पुर्‍याएको छ। जीवनका आध्यात्मिक यात्रामा निस्किएका श्रद्धालुहरूलाई लक्षित गरी गरिएको यो हिंसात्मक हमला केवल एक अपराध मात्र होइन, सम्पूर्ण मानव सभ्यताको मूल मूल्यहरू विरुद्ध गरिएको प्रहार हो।



सोमवार साँझ पहलगामको लिद्दरघाट नजिक रहेको तीर्थस्थल जान क्रममा रहेको यात्रुहरूको बसमाथि सशस्त्र आतंककारी समूहले योजनाबद्ध रूपमा हमला गर्‍यो। घटनास्थलमै २५ जनाको ज्यान गयो भने बाँकी ३ जनाको उपचारको क्रममा अस्पतालमा निधन भयो। मृतकमध्ये भारतका विभिन्न राज्यका श्रद्धालुहरूसँगै नेपालका युवा तीर्थयात्री सुदीप न्यौपाने र युएईबाट आएका एक गैरआवासीय हिन्दु पर्यटकको पनि दुःखद निधन भएको छ ।

यस आक्रमणले धार्मिक आस्थाको यात्रालाई नै निशाना बनाएको छ– जसले विश्वभरका धार्मिक, सांस्कृतिक र मानव अधिकारकर्मीहरूलाई गहिरो चिन्तामा डुबाएको छ। कुनै पनि धार्मिक वा वैचारिक असहमतिको आधारमा मानव जीवन हरण गर्नु, त्यो पनि निहत्था, निर्दोष र शान्तिपूर्ण यात्रुहरूमाथि, केवल अमानवीय होइन– यो क्रूरताको चरम उदाहरण हो।

यो घटना केवल एउटा आक्रमणको विवरण होइन। यो हाम्रो सभ्यताको मूल्य परीक्षण पनि हो। यस्तो पाशविकताको सामना गर्दा हामी मौन बस्न सक्दैनौं। हामीले बुझ्नुपर्छ, यस्ता कार्यहरू आतंकवादी संगठनहरूद्वारा केवल त्रास फैलाउनका लागि होइन, विश्व समुदायको सहिष्णुता र एकताको भावनालाई कमजोर पार्न र धर्मको नाममा घृणा फैलाउने दुष्प्रयास स्वरूप गरिन्छ।

सुदीप न्यौपानेको निधनले नेपालका लाखौँ परिवारमा गहिरो पीडा थपेको छ। उनी एक साधारण धार्मिक युवा  थिए । हिंसा धर्म होइन। जुनसुकै धार्मिक पहिचान होस्, त्यसले हिंसा, द्वेष वा हत्या समर्थन गर्न सक्दैन। यस्तो आतंकले कुनै पनि धर्मको प्रतिनिधित्व गर्दैन, बरु धर्मको नाम बदनाम गर्छ।

हामी सम्पूर्ण  अमेरिकावासी  नेपालीहरू, मानव समुदाय, अन्तर्राष्ट्रिय संस्था, धार्मिक अगुवाहरू र राष्ट्रहरूलाई आग्रह गर्छौँ– यस्ता हिंसात्मक अतिवाद विरुद्ध एकजुट होऔँ। यस्ता घटना विरुद्ध केवल शब्दले होइन, नीति, शिक्षा, सहयोग र संवादमार्फत दीर्घकालीन समाधान खोजौँ।

हामी सबै आप्रवासी नेपालीहरू मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार