‘एमसीसी’ बन्द गर्ने अमेरिकी सरकारकाे निर्णय, नेपाललाई पर्नसक्छ अर्बाैंकाे क्षति-Sutra News

‘एमसीसी’ बन्द गर्ने अमेरिकी सरकारकाे निर्णय, नेपाललाई पर्नसक्छ अर्बाैंकाे क्षति

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । अमेरिकाले विदेशी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने निर्णय गरेकाे छ । अमेरिकी सरकारअन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता विभाग (डज)ले विकासशील देशहरुलाई दिइँदै आएको यो अनुदान सहयोग बन्द गर्ने निर्णय गरेकाे हाे ।



समाचार संस्था रोयटर्सका अनुसार मंगलबार नै डजले एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत सूचित गरेकाे छ । कर्मचारीहरूलाई मे ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको राेयटर्सले जनाएकाे छ ।

यो परियोजना बन्द गर्ने निर्णयले नेपाललगायत धेरै देशहरु प्रत्यक्ष प्रभावित हुने भएका छन् । साथै, यस परियोजना अन्तरगत कार्यरत थुप्रै कर्मचारीकाे राेजगारी पनि जाने भएकाे छ ।

अमेरिकाले विकासमा पछि परेका देशहरुमा सुशासन, दिगो आर्थिक विकास र गरिबी न्यूनीकरणमा सहयोग गर्न भन्दै एमसीसीमार्फत अनुदानका कार्यक्रम सञ्चालन गरेकाे थियाे ।

नेपालमा पनि अमेरिकाले एमसीसी परियोजनामा ५० करोड अमेरिकी डलर सहायता दिने सम्झौतामा हस्ताक्षर गरेकाे थियाे । उक्त सहमति पछि नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम सुरू भएकाे थियाे । जसलाई एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।

यद्धपि परियोजना नै बन्द हुँदै गर्दा नेपालमा कार्यान्वयनमा गइसकेकाे परियाेजनामा पनि सहयाेग बन्द हुनेछ । जसले नेपाललाई अर्बाैंकाे क्षति पर्ने देखिन्छ । किनकि एमसीसीकाे मापदण्डअनुसार विभिन्न शीर्षकमा याेबिचमा नेपालले नै खर्च गरेकाे छ ।

२०८० भदौ १३ देखि कार्यान्वयनमा गएको एमसीसी परियोजना १० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेकाे एमसीए नेपालले जनाएको छ। एमसीए नेपालले सञ्चालन गर्ने एमसीसीअन्तर्गतका परियोजनाका लागि चालु आर्थिक वर्षमा मात्रै १३ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरिएकाे थियाे । योमध्ये नेपाल सरकारको स्रोतबाट ३ अर्ब ४५ करोड र एमसीसीको अनुदानबाट ९ अर्ब ९० करोड ८० लाख स्रोत सुनिश्चित गर्ने उल्लेख थियो।

गत साउनदेखि फागुन २७ गतेसम्म कुल १ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। जसमध्ये १ अर्ब २५ करोड एमसीसीको र २७ करोड ३९ लाख रुपैयाँ नेपाल सरकारको खर्च भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार