

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा बैंककमा रहेकै बखत नेता डा. शशांक कोइरालाले पार्टी नेताहरूसँग बेग्लै छलफल गरेका छन् । बिहीबार नेता कोइरालाले महाराजगन्जस्थित आफ्नै निवासमा छलफल चलाएका हुन् ।
कोइराला निवासमा भएको छलफलमा नेताहरू कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशरण महत, गोपालमान श्रेष्ठलगायत सहभागी थिए । चियापानको नाममा भएको छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता गोपालमान श्रेष्ठले जानकारी दिएका छन् ।
“पार्टीभित्रका प्रभावशाली र सिनियर नेताहरूले आलोपालो रूपमा बैठक बसाउँदै आएका छौँ, सोही सिलसिलामा कोइराला जीले बैठक बोलाउनु भएको हो”, श्रेष्ठले भनेका छन्, “समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो, पार्टीभित्रको राजनीतिक अवस्थाबारे पनि छलफल भएको हो ।”
श्रेष्ठले बताएअनुसार सरकारको कामकारबाहीसँगै कसरी समयमै महाधिवेशन सम्पन्न गर्ने भन्ने कोणबाट पनि छलफल भएको छ । “महाधिवेशनलाई समयमै गर्नुपर्ने छ, उपयुक्त नेतृत्व पनि छनोट गर्नुपर्नेछ, जसका लागि छलफल चलाउन आवश्यक छ”, उनले भनेका छन् ।
यसअघि सिंह, निधि र शशांकले पनि आलोपालो गरी छलफल चलाएका थिए । यद्यपि, यस पटक सिटौला, गच्छदार, श्रेष्ठ र महत थपिएका हुन् । अहिले छलफलमा बसेका केही नेताहरू सभापति देउवा निकटस्थ पनि मानिन्छन् ।
यतिबेला कांग्रेसभित्र केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीको १५औं महाधिवेशनको विषयलाई लिएर विवाद छ । जसका बारे नेताहरू विभाजित छन् ।
केही नेताहरूले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् भने केहीलाई सच्याएर जानुपर्ने बताइरहेका छन् । सरकारको विषयमा उठेको विवादमा कांग्रेसले वैशाख ४ मा पार्टीभित्र समीक्षात्मक छलफल गरेको थियो । जहाँ खास निष्कर्ष ननिस्किए पनि नेताहरूले एक स्वरमा सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
जसलाई निरूपण गर्न सभापति देउवाले बुधवारदेखि केन्द्रीय समिति बैठक बोलाएका थिए । यद्यपि, उनी स्वयं उपस्थित हुन नसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सम्बन्धित समाचार