सिके राउत भन्छन्– पार्टी एकता रोक्न मलाई ज्यान मार्ने र रेशम चौधरीलाई पुनः पक्राउ गर्ने धम्की आयो-Sutra News

सिके राउत भन्छन्– पार्टी एकता रोक्न मलाई ज्यान मार्ने र रेशम चौधरीलाई पुनः पक्राउ गर्ने धम्की आयो

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एकताको अन्तिम तयारीमा छन् । दुई दलहरुले एकताको मितिसमेत घोषणा गरिसकेका छन् ।



अहिलेसम्मको तयारीअनुसार आगामी वैशाख १७ गते पार्टी एकता गर्ने तयारी छ । यस्तोमा पार्टी एकताको अन्तिम तयारी चल्दै गर्दा नेताहरुलाई ज्यानमार्नेसहितका धम्की आउन थालेको नेता राउतले दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै राउतले पार्टी एकतालाई तोड्न हदैसम्मको षडयन्त्र हुन थालेको दाबी गरेका हुन् ।

“परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टीभित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्”, राउतले भनेका छन्, “तर हामी आत्तिएका छैनौं । तपाईंहरू पनि नआत्तिनुहोला । जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौं । एकता हुन्छ नै ।”

उनले जनमत र नाउपाबिचको एकताले धेरैको निद्रा उडेको दाबी गरेका छन् । जुन एकतासँगै नयाँ शक्तिशाली पार्टीको उदय हुने अवस्था बनेको उनको टिप्पणी छ ।

“धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ, नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ”, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार