

काठमाडौं । भारतको जम्मू–काश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ। उनको आज त्रिवेणीमा अन्त्येष्टि गरिएको हो।
आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो।
शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो।
सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर गएका थिए।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीरको पहलगाममा हमला गर्ने आतकंकारीलाई पृथ्वीको छेउसम्म पुगेपनि नछोड्ने बताएका छन्। नेपालले पनि यसबारे भारतलाई साथ रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई टेलिफोनमार्फत् जानकारी गराएका छन्।
मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए। सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो।