

एजेन्सी । काश्मीर हमलापछि भारतले पाकिस्तानका वरिष्ठ कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय गरेको छ। त्यस घटनाको कडा प्रतिक्रियास्वरूप सिन्धु जल सम्झौता निलम्बन गर्नुका साथै भारतमा रहेका पाकिस्तानी नागरिकलाई स्वदेश फर्किन भनिएको छ।
मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए। सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो।
भारत र पाकिस्तानबीच अहिले कूटनीतिकस्तरमा तनाव बढेको छ। भारतले पाकिस्तानलाई सीमा पार आतंकवादलाई समर्थन र आश्रय दिएको आरोप लगाउँदै व्यापक कारबाही गर्ने निर्णय गरेको छ।
भारतले जम्मु–काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स (ट्विटर) अकाउन्ट ब्लक गरिदिएको छ। भारतीय मिडियाहरुका अनुसार पाकिस्तान सरकारको एक्स अकाउन्ट भारतभर नखुल्ने बनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीहरुलाई नसोचेको सजाय दिने कडा प्रतिक्रिया दिएका छन्।
पाकिस्तानले भने पहलगाम घटनामा संलग्नता अस्वीकार गरेको छ। भारतको कडा प्रतिक्रिया सार्वजनिक भएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बरिष्ठ सुरक्षा अधिकारीहरुको बैठक बोलाएका छन्।