

काठमाडौं । यतिबेला पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं टावर नक्सापासको विवादले अलपत्र छ । जहाँ काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’ले महानगरको प्रक्रियाअनुसार नक्सापास नभएको भन्दै निर्माण रोकेका छन् ।
जसमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहितका केही कर्मचारी र पदाधिकारी विवादमा तानिएका छन् । त्यही विवादमा महानगरले गुरागाईंमाथि छानबिनका लागि सिफारिससमेत गरेको थियो । जुन घटनासँगै उनी निलम्बित भएका थिए ।
यद्यपि, कर्मचारी युनियन र केही पदाधिकारीको सहभागितामा निलम्बित गुरागाईँ केही सातादेखि महानगरमा भित्रिएका छन् । उनीमाथि महानगरको प्रक्रिया नै लत्याएर काठमाडौं टावर बनाउन नक्सापासमा सहभागि भएको आरोप छ ।
तर, उनी भित्रिए पनि काठमाडौं टावरको विवाद निरूपण भएको छैन ।
काठमाडौं टावरको विवाद निरूपण नभइरहेका बेला महानगरपालिकाले काठमाडौंको नक्सालमा रहेको चर्चित पाँचतारे हिल्टन होटेलको नक्सापास शंकास्पद भन्दै छानबिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं स्वयंले दुत्र गतिमा गरेको उक्त होटेलको नक्सापास शंकास्पद भन्दै महानगरले छानबिन थालेको हो ।
महानगर मेयर साहले आफ्नो सचिवालयमार्फत उक्त होटेलको नक्सापासमाथि छानबिन थालिएको बताएका हुन् । बिहीबार काठमाडौं टावरको नक्सापास विवादबारे सामाजिक सञ्जालमार्फत तथ्यहरू सार्वजनिक गर्दै बालेनले हिल्टनबारेको छानबिन थालेको बताएका हुन् ।
“हिल्टनको नक्सापास पनि उहाँ (प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ)ले नै उही दिन गर्नु भएको हो, यसमा पनि सचिवालयले अध्ययन गर्दै छ, यसबाहेक थाहा नभएका कति गल्ती गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला”, उनले लेखेका छन् ।

हिल्टन होटेल राजनीतिकरूपले पनि जोडिएको होटेल हो । शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालको लगानीमा बनेको उक्त होटेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । नक्सापासको विवाद सतहमा रहेकै बखत ओली होटेल उद्घाटन गर्न गृह र अर्थमन्त्रीसहित पुगेका थिए ।
प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै गर्दा एकातिर होटेलको नक्साको विषय टुंगिएको थिएन भने अर्कोतिर कुन तहको तारे होटेल हो भन्ने पनि स्पष्ट भएको थिएन ।
सँगै, हिल्टन होटेल निकै संवेदनशील क्षेत्रमा बनाइएको छ । जुन होटेल निर्माणसँगै प्रहरी प्रधान कार्यालय नै असुरक्षित बन्न पुगेको छ । यद्यपि, जसको संवेदनशीलतामा सरकार मौन देखिन्छ ।
सम्बन्धित समाचार