

काठमाडौं । टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै विवाह भएको खुलासा गरेकी छन्। उत्सव रसाइलीको ‘रमाइलो विथ उत्सव’ कार्यक्रममा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन्।
कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ। ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न। जुन कुरा भएको थियो, सक्कियो। यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ। लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ।’
डिभोर्सकै कुरामा अल्झिए बस्न उचित नहुने उनको भनाइ छ। ‘डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्यो त्यस्तो गर्यो भन्ने त्यो चाहिँ हुनुहुँदैन,’ उनी भन्छिन्।
राजीखुसी थियो कि बाध्यकारी थियो ? भन्ने प्रश्नमा उनले केही खुलाउन चाहिनन्। यसलाई स्वीकार गर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘मैले स्वीकार गरेँ पनि यो एकदमै बच्चा बेलामा भएको थियो। बच्चा थिएँ। अहिले २५ वर्षको उमेरमा धेरै कुरा बुझेँ जस्तो लाग्छ।’
डिभोर्सको कुरालाई इंगित गर्दै उनले भन्नि, ‘डिभोर्सपछि केटाहरूले के कुरा सहनुपर्छ भन्ने मलाई थाहा भएन र केटी मानिसले धेरै कुरा सुन्नुपर्छ। त्यो कुरा भएपछि कोही मसँग साथी बन्न चाहेनन्। म त्यो समाजका लागि नराम्रो भए। स्कुलको साथीहरू पनि साथी छैनन्। एउटा ठुलो दुर्घटना थियो, त्यो कट्यो।’
अहिले आउँदा त्यतिबेलाको कुरा सानो लाग्ने उनको भनाइ छ। अहिले पनि आफूसँग स्कुलका साथीहरू पनि साथमा नरहेको बताउँदै गर्दा उनले आँसु बगाइन् ।
मिस पवि अहिले टिभी कार्यक्रम ‘कमेडी दरबार’मा ब्यस्त छिन्। उनले हालै फिल्म ‘माग्ने राजा’ छायांकन गरिन्।