बैंकक जानुअघि प्रचण्डलाई किन फोन गरेका थिए देउवाले ?-Sutra News

बैंकक जानुअघि प्रचण्डलाई किन फोन गरेका थिए देउवाले ?

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि आफूलाई फोन गरेको दाबी गरेका छन्।



बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले सभापति देउवाले थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि आफूलाई फोन गरेको कुरा बताएको भन्दै विभिन्न संचार माध्यमहरूले समाचार लेखेका छन्।

‘यो सरकार रहने देखिँदैन। हामी अहिले सरकारमा जाने भनेको पनि छैन। केपी ओली प्रधानमन्त्री रहुन्जेल यो व्यवस्थालाई खतरा नै रहन्छ। शेरबहादुरजी बाहिर हुनुहुन्छ। उहाँले बैंकक जाने बेला मलाई फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गर्दै शुभयात्रा भनेको थिएँ,’ प्रचण्डका भनाइ उद्धृत गर्दै माओवादीका एक सांसदले भने, ‘हामी हतारिएर सरकारमा जाने बेला भएको छैन।’

ती सांसदका अनुसार नयाँ समीकरणका विषयमा देउवा थाइल्यान्डबाट फर्किएपछि उनीसँग छलफल गर्ने पनि प्रचण्डले बताएका थिए। उनले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि संकेत गरेका छन्।

‘वेइटिङ प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर हुनुहुन्छ। उहाँ आएपछि छलफल हुनेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने।

संसदीय दल बैठकमा अध्यक्ष प्रचण्डले राखेका कुराबारे प्रमुख सचेतक हितराज पाण्डेले पार्टी अहिले सरकारमा जाने होइन भनेर सार्वजनिक रूपमा अध्यक्षले पनि भन्दै आएको बताए।

‘अहिले हामी सरकारमा जाने होइन भनेर मैले बाहिर पनि भनेको छु। तर जाने होइन भनेर कहिल्यै पनि जाने होइन भनेर कहीँ बाचा बन्धन गरेको छैन नि,’ अध्यक्ष प्रचण्डका भनाइ उद्धृत गर्दै उनले भने, ‘बाचा बन्धन गर्ने कुरा पनि होइन। शेरबहादुर देउवा बाहिर जानु भएको छ। उपचारका लागि। आउनु भएको छैन। कुराकानी केही पनि भएको छैन भनेर उहाँले भन्नुभयो।’

सत्तारुढ कांग्रेसभित्रै एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारप्रति विभिन्न असन्तुष्टि राख्दै आएको छ। पार्टी उपसभापति पूर्वाबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले पनि ओलीले एकलौटी सरुवा, बढुवा, नियुक्ति गरिरहेको भन्दै अब सरकारको विकल्प खोज्नुपर्ने बताएका छन्।

दुई साताअघि भएको पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीहरूबीच भएको कांग्रेस बैठकमा पनि देउवाले पहिला आफू एकपटक बैंकक गएर आउने त्यसपछि सरकारको विकल्पबारे छलफल गर्ने भनेका थिए।

वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए। सपरिवार गएका उनी दुई सातासम्म त्यहाँ रहने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार