

एजेन्सी । भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ।
प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाए, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए।
बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ।’
भारतले कश्मीरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूको भिसा खारेज गर्ने निर्णय लिएको थियो।
काश्मीर हमलापछि भारतले पाकिस्तानका वरिष्ठ कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय गरेको छ। त्यस घटनाको कडा प्रतिक्रियास्वरूप सिन्धु जल सम्झौता निलम्बन गर्नुका साथै भारतमा रहेका पाकिस्तानी नागरिकलाई स्वदेश फर्किन भनिएको छ।
इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।
पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ। साथै, पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ। भारतले जम्मु–काश्मीरको पहलगाममा भेको आतंकवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स (ट्विटर) अकाउन्ट ब्लक गरिदिएको छ। भारतीय मिडियाहरुका अनुसार पाकिस्तान सरकारको एक्स अकाउन्ट भारतभर नखुल्ने बनाइएको छ।
वक्तव्यमा भनिएको छ, ‘यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ।’
पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ।
मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए। सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीहरुलाई नसोचेको सजाय दिने कडा प्रतिक्रिया दिएका छन्।