बजेट अधिवेशन आजदेखि, यस्ता छन् पहिलो बैठकका कार्यसूची-Sutra News

बजेट अधिवेशन आजदेखि, यस्ता छन् पहिलो बैठकका कार्यसूची

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।



संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको शुक्रबार अपराह्न १ः०० बजे बैठक बस्दैछ । जुन बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् ।

सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुनेछ ।

संसद अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूले दलीय आधारमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएकाे छ। जनाइअनुसार आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको छ ।

बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ । त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ ।

साथै, यो अधिवेशनले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार