ट्रम्प प्रशासन : शरणार्थीमाथि प्रतिबन्ध !-Sutra News

ट्रम्प प्रशासन : शरणार्थीमाथि प्रतिबन्ध !

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२
trump

क्यालिफोर्निया । सन् २०२५ को जनवरी २७ मा ट्रम्प प्रशासनले घोषणा गरेको शरणार्थी पुनर्स्थापना कार्यक्रमको अनिश्चित कालीन निलम्बन केवल नीतिगत परिवर्तन मात्र होइन, अमेरिकाको ऐतिहासिक मान्यता, अन्तर्राष्ट्रिय भूमिकाहरू र मानवीय उत्तरदायित्वमाथिको ठुला प्रश्न पनि हो।



अमेरिकामा आउने अधिकांश शरणार्थीहरू युद्ध, हिंसा, धार्मिक वा जातीय उत्पीडनबाट ज्यान जोगाउँदै आएका हुन्छन्। उनीहरूको लागि अमेरिका “जीवनको नयाँ सुरुवात” हो। तर ट्रम्प प्रशासनले उनीहरूको अमेरिका प्रवेश नै रोकेको छ, जुन मानवताको मूलभूत मूल्य–शरण दिने अधिकारमाथिको प्रहार हो।

संयुक्त राष्ट्र सङ्घको रिपोर्ट अनुसार, अमेरिकाले वार्षिक ८० हजार शरणार्थी पुनर्स्थापना गर्न सक्ने क्षमता राख्छ, तर यो निर्णयले हजारौँ मान्छेहरू अन्योलमा पारेको छ। अमेरिका भित्र प्रवेश अनुमति पाइसकेकाहरू पनि विमानस्थलमै रोकिएका घटनाहरू प्रशस्त भेट्न थालेको छ ।

ट्रम्पको “अमेरिका फर्स्ट” नारा पुनः केन्द्रमा आइरहेको देखिन्छ। यो निर्णय विशेष गरी ट्रम्पको कट्टर राष्ट्रवादी समर्थकहरूलाई सन्तुष्ट पार्ने रणनीतिको हिस्सा हो। यो एउटा राजनीतिक सन्देश पनि हो— “अमेरिका अब आफैँमा सीमित रहन्छ, बाँकी विश्वको जिम्मेवारी उसकै हो।”

अमेरिका दशकौँसम्म “विश्वको मानवता केन्द्र”को रूपमा चिनिएको थियो। द्वितीय विश्वयुद्धपछि, होलोकास्टबाट बचेका हजारौँ मानिसहरूलाई अमेरिका भित्र्याउने नीतिले त्यो छवि बनाएको थियो। तर आज, यस्तो प्रतिबन्धले अमेरिका आफैँ मानव अधिकारको संरक्षणकर्ता होइन, भित्री डर र राजनीतिमा केन्द्रित राष्ट्र जस्तो देखिन थालेको छ।

युरोपेली युनियन, संयुक्त राष्ट्रसंघ, र अन्य शरणार्थी संरक्षण निकायहरूले कडा शब्दमा आलोचना गरेका छन्। “शरण खोज्न पाउने अधिकार एउटा अन्तर्राष्ट्रिय मान्यता हो, त्यसलाई सरकार परिवर्तनले मेटाउन सक्दैन,” उनीहरूको भनाइ छ ।

नेपालबाट पनि धेरै नागरिकहरू अमेरिका शरणको प्रक्रियाबाट आएका छन् । कतिपयले भूकम्पपछिको अशान्ति, धार्मिक उत्पीडन वा घरेलु हिंसाबाट भागेर अमेरिका रोजेका थिए। उनीहरूका लागि यो नीति भावी प्रक्रियामा अवरोध, ढिलाइ, वा पूर्ण अस्वीकृतिको संकेत हो।

त्यसैले प्रवासी नेपाली समुदायले अब सचेत, संगठित र आवाज उठाउने भूमिकामा जानुपर्ने बेला आएको छ — राजनीतिक प्रतिनिधिहरूसँग संवाद, संघसंस्थाको सहयोग र कानुनी परामर्श अत्यावश्यक बन्न पुगेको छ।

शरण दिनु कुनै राष्ट्रको कृपा होइन, त्यो विश्वव्यापी मानवता र मानव अधिकारको हिस्सा हो। अमेरिकाको नेतृत्वले जब त्यस्तो मूल्यलाई पछाडि पार्छ, त्यो केवल आफ्नो छविमाथिको आघात होइन, बाँकी विश्वलाई पनि शङ्काको घेरामा पार्ने जोखिम हो।

ट्रम्प प्रशासनको शरणार्थी प्रतिबन्ध एकपल्ट होइन, बारम्बार उठाइनेछ केवल कानुनी चुनौतीको रूपमा नभएर मानवीय मूल्यको परीक्षणका रूपमा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार