राप्रपाका नेताहरूले किन चिन्दैनन् दुर्गा प्रसाईंलाई ?-Sutra News

राप्रपाका नेताहरूले किन चिन्दैनन् दुर्गा प्रसाईंलाई ?

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

राजा फर्काउने भन्दै चैत १५ मा आम हडतालमा उत्रिएका राप्रपाका प्रमुख नेताहरू सहितको आन्दोलनले अन्ततः हिंसात्मक रूप लियो र दुई जनाको ज्यान समेत गयो । यसैक्रममा दुर्गा प्रसाईँलाई आन्दोलनको नेतृत्व दिन त्यसको एक/दुई दिन अगाडि राप्रपाले पत्रकार सम्मेलन समेत गरेको थियो । त्यही पत्रकार सम्मेलनमा प्रसाइँको जय जयकार भयो । उनी बाहुबली साबित भए, उनको नेतृत्वमा राजा आउने कुरा पक्कापक्की भयो भन्ने बनाइयो । नवराज सुवेदीदेखि राजेन्द्र लिङ्देनसमेतले हर्षोल्लास गरे, आखिर राजालाई प्रसाइँले ल्याइछाड्ने भए भनेर पत्रकार सम्मेलनमा कर्कटध्वनी गुञ्जायमान भयो । त्यही पत्रकार सम्मेलनबाट प्रसाइँ यस्तो देखिए की मानौँ देशमा प्रजातन्त्र पुनर्स्थापनाका लागि गणेशमानले नेतृत्व लिए जस्तै । 



पर्सिपल्ट आन्दोलनले हिंसात्मक रूप लियो र सफल भएन । प्रसाईं भागेर रातारात भारत छिरे । रवीन्द्र मिश्र र धवलहरू अहिले पनि जेलमा छन् । प्रसाईं १५ दिनपछि भारतको आसामबाट २८ चैतमा पक्राउ परे र अहिले उनीमाथि अनुसन्धान जारी छ । आन्दोलनमा आगजनी भयो । घर जले । पसल तथा भाटभटेनीबाट सम्पत्तिहरू लुटिए । ज–जसलाई जुन–जुन कुराको आवश्यकता थियो, त्यही–त्यही चिज आन्दोलनकारीले बोकेर निस्किए ।

हिजो माओवादीले गाउँघरमा जे–जे हरकत गरेका थिए, राप्रपाको राजा ल्याउने आन्दोलनमा पनि त्यस्तै हरकत भयो । दुई जनाको अनाहकमा ज्यान गयो भने दर्जनौँ घाइते भए ।

आन्दोलन शान्तिपूर्ण हुन सक्दैन, यो कसैको बसमा हुँदैन भनेर नेतृत्व लिनेहरूले भाषण गर्दै गर्दा मिति सकिएको टिएर ग्यास वर्षा भो । आन्दोलनकारीले निषेधित घेरा तोडेपछि प्रहरीले ग्यासको गोली चलायो, त्यो पनि कम्मर मुनि । प्रसाईं एसिया महादेशभरि न्युज कभरेज भए । ‘सुनारको सय चोट, लोहारको एकै चोट’ भन्ने उखान साबित गरे उनले । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा लाग्ने सम्भावना प्रबल छ किनकि उनले प्रहरी जवानमाथि गाडी चलाउन खोजेको भिडियो आफैले खिचेका छन् । सँगै, उनको समूहले आगजनी र चोरी डकैती गरेको छ । आफ्नो गल्तीको प्रमाण पनि उनी आफैले दिएका छन् । सायद यही विरक्तिले उनी हरिद्वार बिन्द्रा वनसमेत तीर्थ गर्न गराएको जस्तो देखिन्छ ।

बहसको मुख्य कुरा भनेको प्रसाईँलाई मात्रै बलिको बोको बनाएर राजेन्द्र लिङ्देन र नवराज सुबेदीहरू चाहिँ चोखिएर, सत पात्र भएर कसरी मस्तले मौन निन्द्रा सुतिरहेका छन् अहिले ?

अघिल्लो दिन प्रसाईँलाई आन्दोलनको नेतृत्व दिने त्यही राप्रपा अनि आन्दोलन असफल भएको भोलिपल्ट दुर्गा प्रसाईं हाम्रो पार्टीको होइन भनेर कुन मुखले भनेका र वक्तव्यबाजी गर्न सकेका राजेन्द्र लिङ्देनहरूले ? अघिल्लो दिन पत्रकार सम्मेलन गरेर प्रसाईँलाई कमान्डरको फूल माला लगाइदिने अनि असफल आन्दोलन भएको भोलिपल्ट प्रसाईं चिन्दिन भन्ने ? लिङ्देनहरू कति नैतिकवान् छन् भनेर भन्ने ?

यदि आन्दोलन सफल भएको भए, राजा श्रीपेचसहित दरबारमा राजदण्ड लिन सफल भएका भए लिङ्देनहरूले आन्दोलनको सबै जस आफ्नो पक्षमा लिन्थे, तर आन्दोलन सफल भएन, प्रसाईँलाई चिन्दिन भन्न थाले । राजनीतिमा सबैभन्दा पापी काम चाहिँ त्यही हो कि असफलता अपजस अरूको हातमा अनि जसको श्रेय आफ्नो पक्षमा । यस्तो घात त हिजो महाभारतको युद्धमा कौरव पक्षले पनि गरेका थिएनन् ।

राजावादीहरूको एकले अर्कालाई दोष दिने र देखाउने चलन त पुरानै हो । आन्दोलनको अर्डर दिने सबैलाई समान कारबाही हुनुपर्ने हो कि होइन ? नवराज सुबेदीको कुरा पनि आफैँमा बाझिएको छ । आन्दोलनको पर्सिपल्ट माननीय पशुपति शमशेरले ‘प्रसाईँलाई म चिन्दिन, मैले आजसम्म प्रसाईं भन्ने मान्छेको मुख पनि देखेको छैन’ भन्ने अभिव्यक्ति दिए । डाक्टर प्रकाशचन्द्र लोहनीले पनि पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्तामा प्रसाईं नचिनेको अभिव्यक्ति दिएका छन् । आन्दोलनका क्रममा कतिपय सडकमा रमिता हेर्न गएका मानिस पनि फसेका छन् र जेलमा छन् । यो बारेमा राज्यले निष्पक्ष भएर छानबिन गर्नु जरुरी छ । आन्दोलन गर्न पाउने अधिकार सबैलाई संविधानले दिएको हक हो तर आन्दोलनका नाउँमा मान्छे मार्ने र मर्न लगाउने छुट न राज्यलाई छ न त राजनीतिक पार्टीहरूलाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार