

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार औपचारिक वार्ताका लागि आन्दोलनरत शिक्षकहरुलाई बोलाएका थिए । उनले शुक्रबार दिउँदो विज्ञप्ति निकाल्दै वार्ताका लागि आह्वान गरेका थिए ।
जुन आह्वानप्रति शिक्षक महासंघ सकारात्मक देखियो । जुन निर्णयपछि शिक्षकहरु वार्ताका लागि सिंहदरबार पुगे । तर, प्रहरीले पासको कारण देखाउँदै महासंघका नेताहरुलाई सिंहदरबारको दक्षिणी गेटमै रोकिदियो ।
जहाँ मन्त्रालयले समन्वय गरेको थियो । तर, शिक्षकहरु वार्ता नै नगरी फर्किए ।
जसबारे महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कारणबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले ‘विशेष कारण’ भन्दै वार्ता नभएको बताएका छन् ।
‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं, तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं’, उनले भनेका छन् ।
उनले बताएअनुसार महासंघले तयार गरेको वार्ता टोलीको नाम र मन्त्रालयले पासका लागि पठाएको नाम फरक छ । जुन सार्वजनिक भएपछि टोली फर्किएको हो । मन्त्रालयले झुक्याउन खोजेको आशंका महासंघको छ ।
शिक्षकहरु गत २० चैतदेखि निरन्तर प्रदर्शनमा छन् । बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूका जायज माग पूरा गरी ३ दिनभित्र उनीहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन आदेश दिएको छ । जुन आदेशपछि बाध्यात्मकरुपमै नवनियुक्त मन्त्री पन्तले वार्ताको प्रक्रिया सुरु गरेका हुन् ।