

भियतनाम बाट ६ महिने वर्किङ भिसामा आएकी मिस यासिरालाई मैले एक दिन हङ्कङको काउलिङ पार्कमा भेटे । तिनी लुकेर चुरोट पिउँदै थिइन। साझको त्यस्तै ७ बज्दै थियो,यति बेला दिनभरीको तनावग्रस्त शरीर लिएर मान्छे त्यही पार्क वरिपरि मन बहलाउन आउँछन्।
शायद तिनी पनि एक्ली छिन । म जस्तै दिनभरि रेस्टुरेन्टमा काम गरेर थाकेको शरीर लिएर, साँझ मन बहलाउन यहाँ आएकी हुन। चोरी र माझी औँलाको बिच भएर सल्किरहेको चुरोटले फुसफुस धुवाँ फाल्दैथ्यो। तिनी धुवाँलाई हातले हम्केर पर पर धकेल्दै थिइन।
म तिनैको साइड भएर अर्को खाली मेचतिर जाँदै थिए । मलाई छले जस्तो गर्दै मेरो मुहार पुलुक्क हेरिन। मैले देखे नदेखेको जस्तै गरे। यसो त मलाई पनि सिधै कुनै केटी मान्छेको अनुहार हेर्न डर लाग्थ्यो। गल्फ मुलुकमा कुनै बुर्का लाएकी केटीको अनुहार हेर्दा ७ दिनसम्म बेकसुर थुनामा परेको केटाे थिए म, त्यो कुरा सम्झिदा पनि मन तर्सिन्छ, त्यस दिन देखि अपरिचित केटीतिर आँखा लर्काउन र तन्काउन बन्द गरेको थिए मैले।
भियतनामीहरूको र नेपालीको अनुहार मिल्दोजुल्दो हुन्छ। हल्का बुर्कामा थिइन तिनी पनि । मुस्लिम हुन।तर मुख चैँ छोपिएको थिएन। मुस्लिम मुलकी, तर मङ्गोलियन मुहारकि । असाध्य गोरी थिइन। एक्लो आकाशको बाटुलो चन्द्रमा जस्ती। बिछट्टै राम्री थिइन। हेर्दा असल स्वभावकी जस्ती लाग्थिन।
सँगै रहेको खाली फलामे मेचमा गएर म पनि टुसुक्क बसे।
मलाई हेरिन र अलिकति मुस्कुराइन। चिने जस्तो गरेर बोलाइन।
” आइम सरि, यु आर लुकिङ लाइक भियतनामी गाइज ”
तिनले अंग्रेजीमा नरम भएर बोलेपछि मैले सोचे यिनी पढेलेखेकी भलाद्मी केटी रहेछिन्।
साँझ अलि छिप्पिँदै गयो।
यसो माथि आकाशमा हेरेको जुन एक्लै थियो। हन्कङको उज्यालो आकाशमाथि चम्किरहेको जुन सुनको औठिमा हीरा टल्किए जस्तो देखिन्थ्यो।
चुरोट आधी पिएर डस्टबिनमा फालिन तिनले ।
अलिकति घबराए जस्तो, अलिकति डराए जस्तो र अलिकति केही कुरा मिस गरेजस्तो भाव झल्किरहेको थियो तिनको जुनकिरी मुहारमा । पहिलो चोटि पो बोल्न गाह्रो हो, तर बोलिसकेपछि फेरि बोल्न सजिलो।तल स्विमिङ पुल थियो। म स्विमिङ पुलमा रमाउँदै गरेका बैशालु युवती तिर आँखा बिछ्याउँदै थिए। एउटी चाइनिज केटी परबाट फोनमा कस्तो कर्कसो आवाजले बोल्दै आइरहेकी थिइन।ती यासिरा मलाई केपो भन्दै थिइन त्यो चाइनिज केटीको कर्कसो आवाजले ध्यान भङ्ग भो मेरो।
मैले सोधेँ –
“मलाई त चाइनिज आउँदैन यासिरा तिमीले बुझ्यौ ? कस्लाइ गाली गर्दै थिइन फोनमा ती नानीले” ?
“तिनी आफ्नो ब्वाइफ्रेन्डलाई गाली गर्दै थिइन” यासिराले भनिन।
झगडा नै गर्नु थियो त किन एक अर्काले माया गरेको नाटक गर्छन् है अहिलेका युवायुवतीहरू…. …. प्रेम , जीवन , उद्देश्य, सपना ,अनुभूति ! भोक , मानव कर्म, धर्म ,राष्ट्र र राजनीतिका बारेमा हामी बिच तीन घण्टा बहस भयो।
यासिराले समाज शास्त्रमा मास्टर डिग्री गरेकी रहिछन्। भियतनाममा उनको आमा बुबा, एक दाइ एउटी बैनी रहेछन्। यसिरा पन्ध्र वर्ष प्रेममा रहिछन् तर उनको प्रेमीले अर्कै एक थाइल्यान्डको केटीसँग बिहे गरेछ। प्रेममा ब्रेकअप भए पछि तिन्लाइ भियतनाममा बस्न मन लागेनछ। ऋण गरेर पैसा दलालीलाई खुवाएर वर्किङ भिसामा हङकङ आएकी रहिछन्।
ठुलो सहरमा ठुलो सपना र रहर थियो मनमा। जुन रेस्टुरेन्टमा काम गर्न भनी तिनी आएकी थिइन त्यो रेस्टुरेन्टका मालिक मालिक्नी त्यही आफ्नो पहिलाको ब्वाइफ्रेन्ड र उसको श्रीमती परेछन्।
आफ्नो विगत झलझली तिनको आँखामा नाचेछ। यासिरा गहभरि आँसु पार्दै बोल्न थालिन –“बेलुकी कता जाऊ हङकङ आएको पहिलो दिन ।केही थाहा पनि थिएन।आफ्नो प्रेमी जसले मलाई धोका दिएर अर्किसग बिहे गर्यो, फेरि उसैको सरणमा पर्न पर्नु मेरो कस्तो नियति थियो।
श्रीमतीको अगाडि मलाई नचिनेको अभिनय गर्यो उसले। पहिलो रातमै रेस्टुरेन्टमा थुप्रेका भाडा माझे। रात छिप्पेपछी उसको श्रीमती आफ्नो कोठामा गई। उ काउन्टरमा दिनभर थुप्रिएको पैसाको हिसाबकिताब गर्न थाल्यो। म थकाइले गलेको थिए। मलाई काउन्टर नजिक बोलायो। नजिक बसे। उस्लाइ हेरे। खासै त उसको अनुहारमा पनि कुनै चमक थिएन। उ पनि खुसी थिएन।तीन वर्ष पछिको एक्कासि थियो त्यो हाम्रो भेट।
कुनै बेला उ मेरो हिर्दयको हिरासतमा थियो।कति धेरै माया गर्थे मैले उस्लाइ। तर आज उ मालिक। म नोकर्नी। कुनै बेलाको त्यो स्वप्नील जुनेली माया आज कति फरक छ। जिन्दगीमा समय त रहेछ नि सबैभन्दा बलियो है !
के कारणले उसले मलाई भुल्यो त्यसको प्रतिउत्तर चाहन्थे म।तर त्यो मौका कहिले मिलेन। शक र शन्खामा हुन्छन् हरेक पुरुषहरू हमेसा। त्यो दिन म मेरो डिग्रीको क्लास मेट यसुफफ खानको बाइकमा थिए र बेलुकी उसले फोन गर्यो अब आइन्दा म तिमीलाई कहिले पनि भेट्ने छैन- त्यो रातभर रोए म। आफैलाइ धिक्कारे कि म त्यो दिन यसुफको मोटर बाइकमा लिफ्ट मागेर घर नगएको भए मेरो प्रेम त छुट्दैनथ्यो ! म मुस्लिम, उ भन्दा म अझै कट्टर हुनुपर्ने तर मेरो शिक्षाले मलाई त्यस्तो सिकाएन।
सन्सारका मानिस हामी एकै र आपसी हित र सेवामा समर्पण हुनुपर्छ भन्थे म। उ बुद्धिस्ट थियो। म मुस्लिम थिए। प्रेमको जात र धर्म हुन्न भनिन्थ्यो । प्रेम छुटेपछि सबै कुरो छुटेजस्तो लाग्दो रहेछ। कसैसँग पन्ध्र वर्ष सम्बन्धमा रहनु तर सानो कुराले प्रेम टुट्नु यो कस्तो विडम्बना थियो।
केही महिना त मैले केही सोच्नै सकिन। उ एका एक हरायो। मैले लगातार फोन गरे तर उसको फोन अफ थियो। घाउ जतिसुकै गहिरो होस तर समयले आफै मलहम लागाउदोरहेछ । खत बसाल्दो रहेछ। चोटले पारेको घाउ निको होला तर प्रेमको घाउ कहिले निको हुँदैन र त्यही घाउको कारण म चुरोटको अम्मली भए । भियतनामकै सरकारी अफिसमा नाम निकालेको थिए तर बस्न मन लागेन।
यो के सन्जोग थियो ! पुन म उस्कै छायामा फेरि आइपुगे। सोचेकी पनि थिइन कि फेरि हाम्रो भेट होला। म काउन्टर नजिक बसे। उसको हातमा रहेको पैसालाई बिटो पार्दै रबरले बान्दै थिए। उसको श्रीमती एक्कासि आइपुगी। म अलि हच्किए।उ पनि अलि डरायो। उनीहरू थाई भाषामा कुरा गर्न थाले।म अलिक थाई भाषा बुज्थे। उसको श्रीमतीले मलाई वेश्यावृत्तिमा बेलुकी धन्दा गर्न लगाउने र कमिसन खाने कुरा गरी।दुवै लाई फाइदा हुन्छ भनेर आफ्नो लोग्नेलाई सल्लाह दिन थाली। मैले थाई भाषा बुझेकीले तिनको प्लान थाहा भो
भाडा माझ्ने र यौन धन्दा चलाएर बस्ने सर्तमा मैले मन्जुरी दिन पर्ने भो। उ पनि स्त्री हो।उसको पनि मेरै जस्तो कोमल स्त्री मन हुनुपर्ने होइन र ? तर त्यो दुर्वाच्य कसरी उसको मुखबाट आयो ?
म रोए। रातभर रोए। मेरो भूपू प्रेमीले पनि उसको श्रीमतीले नदेख्ने गरेर आँसु पुछ्यो त्यति बेला। स्त्रीहरू स्त्रीकै शत्रु हुदारहेछन भनेर सोचे।
निन्द्रा परेन।रातभर जागै बसे।भान्सामा एउटा लम्पट ओछ्याएर सुते। भोलिपल्ट बिहानै मेरो भूपू प्रेमीले मलाई सम्झायो।उ पनि दुखी थियो तर विवश थियो। मेरो हातमा एक हजार हङकङ डलर थमायो र भन्यो – ” यासिरा तिमी जाऊ। ”
मैले पैसा लिइन। मन साह्रो रोयो। सम्बन्धको क्षितिजमा हराएको एउटा अव्यक्त प्रेमको इन्द्र धनु सात रङ्गमा बिभाजनत छदै थ्यो तर मेरो भागमा परेको बैजनी रङ फिका भैसकेको थियो। कुम्लो बोके र बिहानै समुन्द्री किनारामा गए। मेरा अश्रु धारा मिसिएर होला त्यो नीलो पानी पनि कति नुनिलो थियो।उभाएर मुख धुँदा आफ्नो जिन्दगी आफैलाइ गन्हायो ……!
यसिराको अङ्ग्रेजी सामान्य थियो तर करुणाद्र थियो।
“ओहो यासिरा तिम्रो जस्तै दर्द, तिम्रै जस्तो वेदना अरु कति धेरै नारीका होलान् है ! समुन्नत हङकङको अग्ला भवन भित्र कतिका आशाहरु हवन भएका होलान् है! धन जम्मा गर्नु मात्रै जिन्दगीको उद्देश्य लिएर हिड्नेहरुका लागि हङकङ सपनाको सहर होला तर कति जम्मा गर्ने धन ? सीमा त होला नि है ? मानिसहरू आफूले कमाएको पैसा आफैले खर्च गर्न नपाउँदै सकिन्छन् । बैकमा भएको पैसा अरूले खर्च गर्दिन्छन्।गलित भैसकेको रोगी र जीर्ण जिन्दगी बिसाउन फेरि मानिस आफ्नै देश खोज्छन् है यासिरा ” ?
यासिराका हातमा फेरि चुरोटको धुवा उडिरहेको थियो। म हतारमा थिए र भने ” यासिरा आफूलाई सम्हाल है! किनकि बगिरहेको पानी मात्र सङ्लो हुन्छ । रात छिपिँदै गएको थियो । म यासिराबाट छुट्टीए। उस्का आँखामा जमेको निर्मल पानी तप तप चुहिएर गाला पखालिरहेको थियो।
मानिसकै आँसु पिएर होला है समुन्द्र पनि नुनिलो छ …… सोच्दै क्षितिज भए यासिराबाट …. ।