शिक्षक र सरकारबीचको आजको वार्ता पनि निष्कर्षविहीन-Sutra News

शिक्षक र सरकारबीचको आजको वार्ता पनि निष्कर्षविहीन

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।



सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘ हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।’

उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए । तर, केही दिनमा निकास निक्लने तिवारीले विश्वास व्यक्त गरे ।

कम्तिमा संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेडवृद्धि, मर्यादाक्रमलगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उनको भनाइ छ ।

आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन । तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।

शिक्षकहरूले शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार